बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जोडियो नेपालकै पहिलो ‘डिजिटल पीसीआर’ मेसिन

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जोडियो नेपालकै पहिलो ‘डिजिटल पीसीआर’ मेसिन

images
२०८२ भाद्र १ गते, आइतवार
२०८२ भाद्र १ गते, आइतवार
  • काठमाडौं। टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरिएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमका बीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन्।

    images

    मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका थिए। 

    उक्त कार्ययोजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    सोही प्रतिबद्धता अनुरूप अन्य स्वास्थ्य संस्थाहरुमा जस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्रमशः क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको उनको सचिवालयले जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार जनतासँग गरेका वाचा पूरा गर्न निरन्तर लागिपरेको बताए।

    “हामीले सार्वजनिक गरेको कार्ययोजना अनुरूप नै सरकारी स्वास्थ्य संस्था तथा प्रयोगशालालाई आत्मनिर्भर र विश्वस्तरीय बनाउने निरन्तर अभियानमा छौं।,” मन्त्री पौडेलले भने, “नागरिकले जटिल रोग उपचार परिक्षणका लागि विदेशमा नमुना पठाउनुपर्ने झन्झट हटाउन र खर्चबाट जोगाउन निरन्तर कार्य गर्ने छौँ।”

    के हो डिजिटल पीसीआर प्रविधि?

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज जडान गरिएको डिजिटल पीसीआर मेसिन हाल प्रयोगमा रहेको सामान्य पीसीआरभन्दा निकै परिष्कृत र संवेदनशील मानिन्छ। 

    यसले रगत वा नमुनामा अत्यन्तै न्यून मात्रामा रहेको डीएनएलाई समेत सटीक रूपमा पहिचान गर्ने हुँदा रोगको निदान थप विश्वसनीय र प्रभावकारी हुने प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टले जानकारी दिए।

    “यस प्रविधिको सुरुवातसँगै क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने ईजिएफआर (EGFR), बीसीआर-एबीएल (BCR-ABL), बीआरएएफ (BRAF) जस्ता म्युटेसनको परीक्षण र रगतमा घुमिरहेको ट्युमरको डीएनए (Circulating Tumor DNA) को जाँच अब नेपालमै सस्तो र सुलभ रूपमा गर्न सम्भव हुने” डा. भट्टले बताए।

    सेवाग्राहीलाई थप सुविधा

    यसका साथै, प्रयोगशालामा जडान गरिएको ‘रिपोर्ट भेन्डिङ मेसिन’ ले सेवाग्राहीलाई ठूलो राहत दिनेछ। अब सेवाग्राहीले आफ्नो रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

    सेवाग्राहीले उपलब्ध गराइएको युनिक कोड प्रयोग गरी आफैंले मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्ने प्रयोगशालाले जनाएको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको यस प्रविधि विस्तारले नेपालको रोग निदान क्षमतालाई नयाँ उचाइमा पुऱ्याउने र आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सहज बनाउने मन्त्रालयले विश्वास लिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend