काठमाडौं। चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पिसिएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको आयोगको २१औं बैठकले आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको हो।
बैठकले हालसम्म १०० सिट रहेको एमबीबीएसको सिलिङलाई बढाएर १३० सम्म र ५० सिट रहेको बिडिएसलाई ६० दिने निर्णय गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको हो।
गत असार ३२ गते भएको आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियोे।



