बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

वार्षिक कार्ययोजना पठाउन मातहतका अस्पताल र निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र

वार्षिक कार्ययोजना पठाउन मातहतका अस्पताल र निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र

images
२०८२ श्रावण २९ गते, बिहिवार
२०८२ श्रावण २९ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन दिँदै परिपत्र गरेको छ।

    images

    मन्त्रालयले बिहीबार मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्यहरू अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले परिपत्र गरेको हो।

    images

    मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबीच कार्य सम्पादन सम्झौता गर्ने तयारी पनि मन्त्रालयले गरेको छ।

    यो सम्झौताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई थप जवाफदेही र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।

    `हाम्रो मुख्य उद्देश्य स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र हरेक संस्थालाई आफ्नो लक्ष्यप्रति जिम्मेवार बनाउनु हो,’ मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने, `कार्य सम्पादन सम्झौताले हरेक संस्थाको वार्षिक कार्ययोजना र त्यसको प्रगतिको स्पष्ट मापन गर्न सहयोग पुग्नेछ।’

    विगतमा बजेट भाषणमा समावेश भएका अधिकांश स्वास्थ्य कार्यक्रमहरू कार्यान्वयनमा नआएको र बजेट समयमै खर्च हुन नसकेको जस्ता गुनासाहरू आउने गरेका थिए।

    महालेखा परीक्षकको प्रतिवेदनले समेत पटक–पटक यस्ता विषयहरूलाई औंल्याउँदै आएको छ। यही समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यसपटक आर्थिक वर्षको सुरुवातमै सक्रियता देखाएको हो।

    यसअघि पनि स्वास्थ्य संस्थाहरूको स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धी निर्देशिका, २०७० मा प्रस्तावित स्वास्थ्य संस्थाका लागि व्यावसायिक कार्य योजना आवश्यक पर्ने उल्लेख थियो। यद्यपि, हाल सञ्चालनमा रहेका सबै संघीय संस्थाहरूलाई एकैपटक व्यावसायिक योजना पेश गर्न परिपत्र गरिएको यो नै पहिलो पटक भएको मन्त्रालयका उच्च तहका कर्मचारीहरु बताउँछन्।

    विभिन्न सरकारी निकायहरूमा कार्य सम्पादन सम्झौताको अभ्यास पहिलेदेखि नै हुँदै आएको छ। अब स्वास्थ्य क्षेत्रमा पनि यसलाई प्रभावकारी रूपमा लागू गर्न लागिएको हो।

    यो सम्झौताले स्वास्थ्य संस्थाहरूलाई आफ्नो स्रोत र साधनको अधिकतम उपयोग गर्दै विशिष्टीकृत सेवा विस्तार गर्न र समग्र स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ पार्न मद्दत गर्ने विश्वास मन्त्रालयले लिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend