काठमाडौँ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।
कार्डियोभास्कुलर विभाग प्रमुखका एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक कोइरालाले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत राजीनामाको पत्र सार्वजनिक गरेका हुन्।
अस्पतालका कार्यकारी निर्देशकलाई सम्बोधन गरिएको सो पत्रमार्फत उनले गंगालाल राष्ट्रिय हृदय केन्द्रको सबै जिम्मेवारीबाट बाहिरिएको भनेका छन्। पत्रमा आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख छ।
उनले हाल आफू विदेशमा रहेको र तत्काल भौतिक रूपमा उपस्थित हुन नसक्ने भएकाले विद्युतीय माध्यमबाट राजीनामा दिएको पत्रमा खुलाएका छन्।
पत्रमा उनले राजीनामा पत्रको विद्युतीय हस्ताक्षर प्रमाणीकरण गर्न अस्पताललाई आग्रह गर्दै अक्टोबर १६ सम्म अस्पतालमा उपस्थित हुन नसक्ने भएकाले त्यतिजेलसम्म आफ्नो कार्यकक्षमा रहेका सामानका लागि प्रतीक्षा गर्न भनेका छन्। उनले केन्द्रमा २५ वर्ष काम गरेका थिए।
यस्तो छ उनले लेखेको राजीनामा पत्र:
श्रीमान् कार्यकारी निर्देशक,
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,
बाँसबारी, काठमाडौं,
विषय: राजीनामा दिएकोबारे।
महोदय,
उपरोक्त सम्बन्धमा आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणीकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु।
सो अवधिबीच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरूरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ।
म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं गगन थापा, प्रदीप पौडेल, तपाईं-हाम्रो र हाम्रा शुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट विस्तार गरी यसै वर्षदेखि 'शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र'का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका छु लागि हरदम उपलब्ध हुने नै छु।
मलाई यस केन्द्रमा बिताएको २५ वर्ष एवं यहाँको सद्भावको सदा सम्झना रहने छ।
धन्यवाद।
-रामेश कोइराला।



