काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहसचिव हेमराज सुवेदी र नीता पोखरेल अर्यालको सरुवा भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठक मार्फत सरकारले एकैपटक ७२ जना सहसचिवहरूको सरुवा गरेको थियो। सरुवा सूची बुधबार सामान्य, प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो।
सार्वजनिक सूचीअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहसचिव सुवेदी र पोखरेल अर्याल आएका छन्। यसअघि सुवेदी राष्ट्रिय योजना आयोगमा कार्यरत थिए भने अर्याल निर्वाचन आयोगको प्रवक्ता थिइन्।
सरकारले स्वास्थ्य मन्त्रालयमा रहेका सहसचिव ऋषिराज आचार्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि पठाएको छ।
यस्तै कोशी प्रदेशको स्वास्थ्य सचिव रहेकी डा राधिका थपलियाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत रहने गरि सरुवा गरिएको छ।
यसैगरी मन्त्रालयका एघारौँ तहका सहसचिव डा यदुचन्द्र घिमिरेलाई कोशी प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाज गर्ने गरी पठाइएको छ।
यस्तै मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा रहेका सहसचिव डा श्रवणकुमार मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ। हाल उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेकाले निलम्बनमा छन्।
उनको स्थानमा प्युठान अस्पतालका प्रमुख डा. ओम प्रसाद अर्याललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय वा अन्तर्गतको प्रदेश सचिवका रूपमा कामकाज गर्ने गरि पठाइएको छ।



