काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपति प्रदीप पौडेलले चारवटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिलाई पत्र दिएका छन्।
बुधबार चारै स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिहरुलाई डाकेर मन्त्री पौडेलले जिम्मेवारी सम्हाल्न भन्दै पत्र दिएका हुन्। उनले आफ्नो जिम्मेवारीलाई चुस्त सेवा प्रवाह देखाउने गरि जोड्न पनि नवनियुक्त उपकुलपतिहरुलाई आग्रह गरेको सचिवालय बताउँछ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा. विक्रम प्रसाद श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा. भरतबहादुर खत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा. बुद्धिप्रसाद पौडेल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा. पूजन कुमार रोकायालाई उपकुलपति नियुक्त गरेका थिए।
सरकारले स्वास्थ्यमन्त्री पौडेलको संयोजत्वमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाउन असार ४ गते उपकुलपति सिफारिस समिति गठन गरेको थियो।
सो समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य थिए।
त्यसअघि एक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जनाका दरले २४ जनाको नाम सर्ट लिस्टमा छानिएको थियो। सो लिस्टमार्फत मंगलबार प्रधानमन्त्री ओलीले उपकुलपति छनौट गरेका हुन्।
त्यसअघि यी चार प्रतिष्ठानका लागि ५५ जनाले इच्छा देखाउँदै उपकुलपति पदमा आवेदन दिएका थिए।



