काठमाडौं। देशका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरिएको छ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार रिक्त रहेका चार प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन्।
उपकुलपति नियुक्त हुनेमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेल छन्। यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा भरत खत्री नियुक्त भएका छन्।
यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा विक्रम प्रसाद श्रेष्ठले उपकुलपतिको जिम्मेवारी पाएका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा पुजन कुमार रोकाया नियुक्त भएका छन्।
`पोखराका उपकुलपति डा. भरत खत्रीले नियुक्ति पत्र बुझिसक्नु भयो, बाँकी तीन जनाले बुधबार पत्र बुझ्ने तय भएको छ।´ स्रोतले भन्यो।
सरकारले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजत्वमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाउन असार ४ गते उपकुलपति सिफारिस समिति गठन गरेको थियो। सो समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य थिए।
यसअघि एक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जनाका दरले २४ जनाको नाम सर्ट लिस्टमा छानिएका थिए। सो लिस्टमार्फत अहिले उपकुलपति छनौट गरिएको हो।
त्यसअघि यी चार प्रतिष्ठानका लागि ५५ जनाले इच्छा देखाउँदै उपकुलपति पदमा आवेदन दिएका थिए।



