बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हुक्का पिउने गर्नुहुन्छ? चुरोटभन्दा सैयौँ गुणा घातक हुनसक्छ

हुक्का पिउने गर्नुहुन्छ? चुरोटभन्दा सैयौँ गुणा घातक हुनसक्छ

images
२०८२ श्रावण २७ गते, मंगलवार
२०८२ श्रावण २७ गते, मंगलवार
  • काठमाडौं। पछिल्ला केही वर्षयता नेपाली युवामाझ हुक्का सेवन फेसनकै रुपमा देखिन थालेको छ। इ-सिगरेट र हुक्काका कारण युवामाझ सुर्तीजन्य पदार्थको प्रयोग अधिक रुपमा बढेको अध्ययनहरुले देखाएका छन्।

    images

    पछिल्लो समय कलिला विद्यार्थी, भर्खरै उच्च शिक्षा अन्तर्गत क्याम्पस पढ्दै गरेका युवा हुक्काको प्रयोगमा बढी सक्रिय देखिन्छन्। १५ देखि ३० वर्षका युवाहरु नेपालमा हुक्काको बढी प्रयोग गर्ने प्रयोगकर्ता भएको सर्वेक्षणले देखाएको छ।

    images

    युवा जमातले प्रीय मानेको हुक्का चुरोट सेवनभन्दा सैयौँ गुणा हानीकारक भएको अध्ययनहरुले देखाएका छन्। 

    बिग्रदैं युवा स्वास्थ्य

    नेपालमा सुर्तीजन्य पदार्थका प्रयोगकर्ता ६७ लाख छन्। यो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांक हो। परिषद्कै तथ्यांक अनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा प्रतिघण्टा चारजनाको मृत्यु भइरहेको छ। यो संख्या बर्षिक रुपमा हिसाब गर्दा ३७ हजार ५२५ हुन आउँछ।

    नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सन् २०२४ को सुरुआतमा नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग र आर्थिक भारबारे गरेको राष्ट्रियस्तरको सर्वेक्षणमा नेपालमा १५ देखि ६९ वर्षसम्मका ३४.१ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको देखिएको छ।

    प्रतिवेदन अनुसार १०.७ प्रतिशतले धूमपान, १८.९ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थ र ४.५ प्रतिशले दुवैखाले पदार्थ प्रयोग गर्ने गरेका छन्।

    सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ३४ प्रतिशतमध्ये सबैभन्दा धेरै ५५ देखि ६९ वर्ष उमेर समूहका व्यक्ति छन्, यो उमेरका ५६ प्रतिशतले कुनै न कुनै प्रकारबाट प्रयोग गर्ने गरेको पाइएको छ।

    तर युवा जमातमा हुक्का र इ-सिगरेटको प्रयोग तीव्र गतिमा बढेको देखिन्छ। जसमध्ये हुक्कालाई सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐनमा सुर्तीजन्य पदार्थको रुपमा समेटिएकै छैन।

    सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतले कुनै न कुनै समयमा हुक्का तानेको बताएका छन्। ११.१ प्रतिशतले दिनहुँ हुक्का प्रयोग गर्छन्।

    अझै डरलाग्दो तथ्यांक त के छ भने हुक्का नियमित प्रयोग गर्नेमध्ये ४६. ७ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका युवा छन्। ३५.६ प्रतिशत २५ देखि ३९ तथा १३.३ प्रतिशत ४० देखि ५४ वर्षका छन्। ५५ देखि ६९ वर्ष वर्ष उमेर समूहका ४.४ प्रतिशतले मात्रै हुक्का तान्ने गरेको सर्वेक्षणले देखाएको छ।

    सर्वेक्षणले इ-सिगरेटको प्रयोग गर्नेमध्ये ५८.३ प्रतिशत १५ देखि २४ वर्षका र ३३.३ प्रतिशत २५ देखि २९ उमेर समूहका युवा भएको पनि देखाएको छ।

    बढ्दै हुक्काको प्रयोग

    नेपालमा हुक्काजन्य सामग्रीको प्रयोग निरन्तर बढिरहेको छ। विशेषगरी १५ देखि ३० वर्षका युवाहरुमा बढी हुक्काको प्रयोग भएको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले हुक्काका ग्राहक १६ वर्षदेखि ३५ वर्षसम्मका युवा बढी भएको बताएका छन्।

    धुमपानका निम्ति छुट्टै कक्ष बनाउनुपर्ने तर हुक्काका लागि बनाउनु नपर्ने तथा युवा जमातले बिना हिच्किचाहत पिउने गरेकाले पनि हुक्काको प्रयोग बढेको उनीहरुले अनुभव सुनाउने गरेका छन।

    उच्च माध्यमिक तह र कलेजमा अध्ययन गरिरहेका विद्यार्थी नै हुक्काका ग्राहक बढी भएको उनीहरु बताउँछन्। ३२ भन्दा बढी हुक्काका फ्लेभरहरु छन्।

    चुरोटभन्दा कैयौँ गुणा घातक 

    सन् २०२२ मा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणले हुक्कामा ८२ प्रकारका  हानीकारक तत्वहरु भएको देखाएको थियो।

    पानीसहितको पाइपबाट हुक्का एक घण्टासम्म तान्दा दुईसय वटा सिगरेट बराबरको धुवाँ फोक्सोमा पुग्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ। जसको असर मुख, श्वासनली, फोक्सो र मुटुमा समेत पर्नजान्छ।

    डब्लुएचओका अनुसार धुमपान नगर्ने व्यक्तिभन्दा हुक्का तान्ने व्यक्तिमा मुटुरोगको जोखिम साढे दुई गुणा बढी हुन्छ। हुक्काको धुवाँबाट निस्कने पोलि हाइड्रोकार्बन, कार्बन मोनोअक्साइड, नाइट्रोजन, नाइट्रिक एसिड, निकोटिनले मुटुमा गम्भीर असर पुर्‍याउँछ।

    यस्तै हुक्कमा प्रयोग गरिने कोइलाले कार्बन मनोअक्साइड धेरै उत्पादन गर्छ जसका कारण अक्सिजनलाई एक ठाउँबाट अर्कोमा पुर्‍याउन बाधा पुग्छ।

    धुवाँ रगतमा मिसिए घातक

    एउटा चुरोट पीउँदा आधा लिटर धुवाँ शरीरभित्र जान्छ भने एउटा हुक्का पिउँदा ९० लिटर बढी धुवाँ भित्र जानेगर्छ। यो धुवाँमध्ये केही प्रतिशत मात्रै रगतमा मिसिए यसको असर घातक हुन जाने चिकित्सकहरु बताउँछन्।

    त्यतिमात्रै नभइ एउटै पाइप धेरैजना व्यक्तिले पयोग गर्दा भाइरल इन्फेक्सन र टीबी सर्ने सम्भावना पनि उच्च हुन्छ। हुक्काको प्रयोगले मुखको र आमाशयको क्यान्सर समेत निम्त्याउँछ।

    धुवाँ निस्कने भएकाले फ्‌लेभर मात्रै राखिएको हुक्काले समेत चुरोटसरह नै असर पुर्‍याउने वरिष्ठ फोक्सोरोग विशेषज्ञ डा. अर्जुन कार्की बताउँछन्। त्यसमा पनि जति गहिरोगरी तान्यो त्यति नै बढी असर हुने उनको भनाइ छ।

    हुक्काको धुवाँले दम, मुटुरोग र हृद्यघातको जोखिम बढाउने डा. कार्की बताउँछन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend