काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३ औँ सभा (सिनेट) बैठकले चालु आर्थिक वर्षका लागि ४ अर्व १२ करोड रुपैयाँको बजेट पारित गर्दै विभिन्न निर्णयहरु गरेको छ।
सोमबार बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को वीर अस्पतालमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि ४ अर्व १२ करोड रुपैयाँको बजेट पारित गर्दै आर्थिक, शैक्षिक, भौतिक तथा प्रशासनिक कार्यसँग जोडिएका प्रस्तावहरुलाई पारित गरेको हो।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले बैठकले प्रतिष्ठानको चालु आर्थिक वर्षका लागि बजेटसहितका विभिन्न प्रस्ताव पारित गरेको जानकारी दिए।
बैठकले दुवाकोटमा बन्ने वीर अस्पताल परियोजनाको डीपीआर बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको बस्नेतले जानकारी दिएका छन्।
यसैगरी बैठकले न्याम्सबाट विभिन्न विषय र विभिन्न तह उत्तीर्ण गरेका १७८ जनालाई आगामी दीक्षान्त समारोहमा उपाधि दिनका लागि ग्रेस लिष्टमा समावेश गर्ने निर्णय पनि गरेको छ।
उपकुलपति बस्नेतले न्याम्सका शैक्षिक कार्यक्रम सञ्चालन भएका वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पतालहरुमा शिक्षक दरबन्दी थप गर्ने सम्वन्धी प्रस्ताव समेत पास गरेको जानकारी दिए।
यसैगरी बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको महंगी भत्ता समायोजन गर्ने कार्यलाई पनि पारित गरेको छ।
बैठकमा सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छा, स्वास्थ्य सचिव डा विकास देवकोटा लगायत सिनेट सदस्यहरु सहभागिता थिए।



