धरान। सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस सोमबार बिहान एकआपसमा ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार निधन हुनेको पहिचान खुलेको छैन। घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका-१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।



