खोटाङ। खोटाङमा एक बालिका र एक बालक मृत भेटिएको घटनालाई प्रहरीले शंकास्पद रुपमा लिंदै अनुसन्धानका लागि गाडिएको शव निकालेको छ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलका स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको हो।
साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा बस्नेत र ६ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए। तर परिवारले घटनाबारे प्रहरीलाई जानकारी नदिइ शवको अन्त्येष्टि गरेपछि घटनालाई प्रहरीले शंकास्पद रुपमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले घटनाबारे प्रहरीलाई जानकारी नै नदिएपछि शंकास्पद रुपमा हेरिएको बताए। उनले थप अनुसन्धानका लागि शव उत्खनन् गरिएको जानकारी दिए।
`सापातेलमा भएको घटनाबारे शव अन्त्येष्टि गरिसकेपछि मात्रै प्रहरीलाई खबर भयो। दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव परीक्षणपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर दाहसंस्कार गर्नुपर्ने प्रावधान छ, त्यसो नहुँदा अनुसन्धान अघि बढाइए हो।´ निमित्त प्रमुख प्रहरी निरीक्षक मिश्रले भने।
गत बिहीबारदेख बस्नेतका तीन छोराछोरीसहित छ जना बालबालिका सम्पर्कविहीन भएका थिए। सोही दिन खोजी गर्ने क्रममा साझ अन्य चार जना नजिकैको ओडारमा सकुसल पाइए पनि दुई जना मृत भेटिएका थिए।



