काठमाण्डौं। कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणमा घाइते भएका घाइतेमध्ये एक जनालाई काठमाडौं ल्याइंदै छ।
कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएका थिए।
घटनापछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिब सहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिती सहज बनाउने विषयमा छलफल गरेका थिए।
सोही छलफल पश्चात् सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं ल्याउने तयारी गरिएको हो।
त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
“कारागारको पुर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्।” प्रवक्ता काफ्लेले भने,“झडपमा परी घाइते भएका अन्य घाइतेहरुको उपचारको प्रवन्ध मिलाइएको छ, एकजनालाई उपचारका लागि काठमाडौं ल्याउन प्रवन्ध मिलाइएको छ।”
बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो।



