बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपालमा नसर्ने रोगको एक कारण ट्रान्सफ्याटयुक्त खाना पनि, लाग्न सक्छ घातक रोग

नेपालमा नसर्ने रोगको एक कारण ट्रान्सफ्याटयुक्त खाना पनि, लाग्न सक्छ घातक रोग

images
२०८२ श्रावण २२ गते, बिहिवार
२०८२ श्रावण २२ गते, बिहिवार
  • काठमाडौं। नेपालमा नसर्ने रोगका कारणहरुमध्ये एक प्रमुख कारण ट्रान्सफ्याटयुक्त खाना पनि रहेको पाइएको छ।

    images

    ट्रान्सफ्याटयुक्त खानाका कारण मुटुसम्बन्धी विभिन्न घातक रोगहरु निम्तिइरहेको विज्ञहरु बताउँछन्। बर्षेनी विश्वभर ४३ लाख मानिसको मृयु नसर्ने रोगका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। नेपालमा  कुल ७१ प्रतिशत जनसंख्याको मृत्युको कारण नसर्ने रोग रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांक छ।

    images

    नसर्ने रोगहमध्ये ३० प्रतिशतको मृत्यु मुटुसम्बन्धी विभिन्न रोगका कारण भइरहेको छ। यस्तै ९ प्रतिशतको क्यान्सर, १० प्रतिशतको श्वासप्रश्वासम्बन्धी दीर्घरोग र ४ प्रतिशत मानिसको मधुमेहका कारण मृत्यु हुने गरेको परिषद्को तथ्यांक छ।

    यी रोगहरु बढ्नुको प्रमुख एक कारण ट्रान्सफ्याटयुक्त खाना रहेको बताउँछिन् जनस्वास्थ्य विशेषज्ञ डा. मनिता प्याकुरेल। ट्रान्सफ्याटयुक्त खानाको प्रमुख स्रोत पटक पटक पकाइएको तेल नै रहेको उनको दाबी छ।

    घरमै पनि एउटै तेलमा पटक पटक खानेकुरा तारेर वा भुटेर पकाउँदा ट्रान्सफ्याट बढ्ने उनी बताउँछिन्।

    “थोरै तेलको प्रयोग गरौँ, एकपटक पकाएको तेल फ्याँक्न सिकौँ, प्रशोधित खानेकुरा खान छोडौँ, अनिमात्रै ट्रान्सफ्याटबाट बच्न सकिन्छ”, डा. प्याकुरेल भन्छिन्।

    सोडियमको मात्रा धेरै भएका खानेकुराको प्रयोग कम गर्न र हरेक खाद्यन्न किन्दा लेवल हेर्न पनि उनको सुझाव छ।

    के हो ट्रान्सफ्याट?

    खानेकुरामा हुने अति खराब चिल्लो पदार्थ नै ट्रान्सफ्याट हो। प्राकृतिक ट्रान्सफ्याट माछामासु तथा दूधजन्य खानेकुरामा पाइन्छ। तर पटक पटक एउटै तेल तथा प्रयोग गरी बनाइएका तथा कारखानामा प्रशोधन गरी बनाइएका खानेकुरामा कृत्रिम ट्रान्सफ्याटको मात्रा धेरै रहन्छ।

    तयारी खानेकुरा, जंकफुड, प्याकेटका खानेकुरा, बेकरी आइटम,मिठाइ लगायत खानेकुरामा शरीरलाई हानी गर्ने मात्रामा ट्रान्सफ्याट हुन्छ।

    ट्रान्सफ्याटले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ। यसले रक्तनलीमा विभिन्न अवरोधहरु निम्त्याउँछ र मुटुसम्बन्धी विभिन्न समस्याहरु बढाउँछ।

    हृदयघात, मस्तिष्कघात, मधुमेह तथा बाथरोगको मुख्य कारण पनि ट्रान्सफ्याट नै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्।

    न्यून तथा मध्यम आय भएका मुलुकहरुका लागि अहिलेको सबैभन्दा ठूलो चुनौति बनेको नसर्ने रोग बनेको छ।

    कसरी घटाउने ट्रान्स फ्याटको प्रयोग?

    बजारमा पाइने खानेकुरामा ट्रान्सफ्याटको प्रयोग थाहा पाउन प्याकेटको बाहिर टाँसिएको लेवल मा ट्रान्स फ्याटको मात्रा पनि लेखिएको हुन्छ। विशेषज्ञहरु सो बारे जानकारी लिएर वा हेरेर ट्रान्सफ्याटको मात्रा नभएका खानेकुरा किन्न सुझाव दिन्छन्।

    त्यस्तै घरमा बनाइने खानेकुरामा पनि तोरी, नरिवल, ओलिभ आदीको तेल बढी प्रयोग गर्नुपर्ने उनीहरु बताउँछन्।

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य गाइ भैँसीको घिउमा पकाइएका खानेकुरामा ट्रान्स फ्याटको मात्रा कम हुने हुँदा घरमा पनि घिउको प्रयोग गर्नु ट्रान्स फ्याटको प्रयोग घटाउने अर्को उपाय भएको बताउँछन्।

    त्यस्तै रातो मासु, आइसक्रिम, बेकरी आइटम जस्ता खानेकुराको प्रयोग  कम गर्नु नै ट्रान्स फ्याट घटाउने उपाय भएको डा. वैद्यको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend