काठमाडौं। बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यो सँगै बानिँया बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बनेका हुन। उनी नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेशमा निर्वाचित सांसद हुन।
उनलाई मुख्यमन्त्री बनाउँन ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदले समर्थन गरेका छन।
यसअघि बागमती प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन।
अन्य मन्त्री कोको?
मुख्यमन्त्री पदको शपथ लिएलगत्तै बानियाँले मन्त्रिपरिषद् विस्तार गरे। उनले मंगलबार नै ८ जना मन्त्री नियुक्त गरेका हुन्।
जस अनुसार बानियाँको नेतृत्वमा रहेको बागमती सरकारमा कांग्रेसबाट कृष्णकुमार तामाङले खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय पाएका छन।
यस्तै, शिवराज अधिकारीले विनाविभागीय मन्त्रीको सपथ गर्दा एमालेबाट मधुसुदन पौडेलले कृषि तथा पशुपंछी विकासमन्त्रालयको नेतृत्व पाए।
यसैगरी डा. दिनेश चन्द्र देवकोटाले भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापाले श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीले वन तथा वातावरणमन्त्री, किरण थापाले स्वास्थ्यमन्त्री र बिन्दु श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी पाएका छन्। थापा यसअघिको सरकारमा पनि स्वास्थ्य मन्त्री थिए। उनी फेरी दोहोरिएका हुन।



