काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य तर्फ २१ सय जनशक्ति थप गर्ने विषयले छिटै सार्थकता पाउने बताएका छन।
सातै प्रदेशमा सबै खालका जटिल रोगहरुको उपचार पहुँच विस्तार गर्ने उद्देश्यका साथ मन्त्रालयद्वारा तयार संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनअनुसार २१ सय प्राविधिक जनशक्ति थप्ने विषयमा आज अर्थ मन्त्रालयमा छलफल भएको थियो।
सो छलफल सकारात्मक भएको मन्त्री पौडेलले बताएका छन।
`लामो समयदेखि अघि बढ्न नसकेको जनशक्ति थप गर्ने यस प्रक्रियाले अब चाँडै सार्थक निष्कर्ष प्राप्त गर्नेछ, पाँच वर्षसम्म हरेक वर्ष निरन्तर जनशक्ति थप गर्ने योजनाअनुसार १२ हजार बढी स्वास्थ्य जनशक्ति थप हुनेछन्। यसले हाम्रा संघीय अस्पतालहरुमा बढीरहेको चाप व्यवस्थापन गर्दै नागरिकलाई सेवा प्रदानमा सहजता साथै रोजगारी सिर्जनामा मद्दत पुग्ने विश्वास छ।´ मन्त्री पौडेलले अर्थ मन्त्रालयमा भएको छलफलपछि सामाजिक संजाल फेसबुकमार्फत भनेका छन।
उनले आफू मन्त्री भएदेखि नै जनशक्ति थप गर्ने विषयमा लागेको पनि भनेका छन। उनले नेपाल औषधि उत्पादक संघ (एपोन) को १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन।
`म जनशक्ति थप गर्ने विषयमा लागेको १३ महिना भयो, डाक्टर रामवरण यादव मन्त्री भएदेखि जनशक्ति थपिएको छैन, अझै पनि डिबेट गरिरहनु परेको छ।´ पौडेलले भने।
अर्थ मन्त्रालयमा आज जनशक्ति थपका विषयमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य मन्त्री पौडेल, दुवै मन्त्रालयका सचिव र कर्मचारीहरुसहित बजेट, जनशक्ति र स्वास्थ्यका नयाँ कार्यक्रमका विषयमा छलफल भएको थियो।
छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको थियो।
मन्त्रालयले केही समयअघि नै २१ सय जनशक्ति थप गर्ने प्रस्ताव अर्थमा पठाइसकेको छ। स्वास्थ्यले पठाएको सो पत्रमा अर्थले उक्त विषयमा थप खुलाइ पठाउन भन्दै थप प्रश्नहरु राखेर स्वास्थ्य मन्त्रालयलाई नै पत्र फिर्ता पठाइदिएको थियो। त्यसपछि पुन: स्वास्थ्यले जवाफसहितको पत्र अर्थमा पत्र पठाइसकेको छ।



