काठमाडौं। नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रसाद प्रधानले सरकारले साथ दिए नेपाली औषधि उत्पादकहरुले नै नेपाली बजार धान्ने अवस्था बनाउन सक्ने बताएका छन।
संघको ३१ औं साधारणसभाको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष प्रधानले हाल नेपाली औषधि उद्योगले कुल ५० प्रतिशत माग धान्दै आएको बताउँदै सरकारको साथ रहे ८० प्रतिशत सम्म माग धान्न सक्ने अवस्था बनाउने बताए।
`अहिले नेपालको मागको ५० प्रतिशत औषधि नेपालमै उत्पादन भएको औषधिको भर छ, सरकारको सहयोग भए ८० प्रतिशत नेपाली उत्पादनले नै धान्ने अवस्था बनाउन सक्छौ, तर सरकारले साथ दिने अवस्था बन्नु पर्छ´ प्रधानले भने।
प्रधानले विश्वका दुई सय देशले औषधि उत्पादन गर्ने गरेको र त्यसमा पनि एक सय देश उत्कृष्ट औषधि उत्पादन गर्ने भित्रमा पर्ने भन्दै त्यसभित्र पनि नेपाल पर्ने दाबी गरे।
उनले हाल नेपालमा ८३ उद्योगले औषधि उत्पादन गर्दै आइरहेको बताउँदै ९० अर्ब कुल लगानी रहेकी उद्योगले वार्षिक ब्यापार ३५ अर्ब मात्र गर्दै आएको बताए। उनले अहिलेको उत्पादनको अवस्थाले नाफा कमाउने अवस्था नरहेको उनले बताए।
मूल्य समायोजनका लागि सरकारले समितिमा संघको प्रतिनिधित्व रहेको भए पनि असहमति कायम रहेको प्रधानले बताए।
`कुनै पनि ब्यवसायीक संस्थालाई बाँच्न प्रोफिट चाहिन्छ, औषधि उद्योगमा लगानी अनुसारक्क प्रोफिट छैन, सरकारले ध्यान देओस, औषधि उद्योगमा क्षयरोग लाग्ने अवस्था छ, बचाइदिनोस।´ प्रधानले अघि भने।
अहिले ५० हजार ब्यक्तिले नेपाली औषधि उद्योगमा रोजगारी पाएको बताउँदै अझै बढाउन सकिने दाबी गरे। नेपालमा औषधि उद्योगमा बैज्ञानिक पद्धतिलाई संघले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
`राष्ट्रको दुई पैसा राष्ट्रमै रहोस, मूल्य मुल्य भन्न छाडौं, यो देशका नागरिकले सस्तो होइन गुणस्तरीय औषधि पाउँने वातावरण बनाऔं,नेपालमा औषधि उद्योगमा बैज्ञानिक पद्धतिलाई संघले प्राथमिकतामा राखेका छौं।´ प्रधानले भने।



