काठमाडौं। नेपाल औषधी उत्पादक संघ (एपोन) को अध्यक्ष पदमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित भएका छन। संघको ३१औं वार्षिक साधारणसभा अहिले जारी छ।
अध्यक्षका अर्का उम्मेदवार रहेका दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत बनेका हुन। अधिकारी यसअघिको कार्यकालमा अध्यक्षका उम्मेदवार बन्दा पराजित भएका थिए। यसपटक उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन।
`सबैको साथ र सहयोगले सर्वसम्मत निर्वाचित भएको छु, संघलाई अघि बढाउन केही योजना बनाएको छु, सबैको साथ लिएर सहकार्यका साथ अघि बढ्छु, साथ दिनुहुने सबैलाई धन्यवाद।´ सर्वसम्मत निर्वाचित बनेपछि अधिकारीले एक्सरे नेपालसँग भने।
अधिकारी अब दुई वर्ष संघको नेतृत्वमा रहने छन। अध्यक्ष बाहेकका अन्य पदमा पनि सहमतिको प्रयास जारी छ।
निर्वाचन समिति संयोजक प्रज्वलजंग पाण्डेका अनुसार आगामी कार्यकालका लागि अध्यक्षमा अधिकारी र दाहालसहित कुल १७ जनाको उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन प्रक्रियामार्फत १३ जना मात्रै आगामी कार्यसमितिमा चुनिने छन।
अन्य कोको छन उम्मेदवार?
संघको अध्यक्ष बाहेक सदस्य पदमा प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक गणेश, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र प्रवन दाहालले उम्मेदवारी दर्ता गराएका छन।
यसपटक संघले विधान संशोधन गरी कार्यसमिति संरचनामा सचिव र एक सदस्य थप गरेर १३ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ।
संशोधित विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी र छ सदस्य रहने व्यवस्था गरिएको छ।
संघको पदाधिकारी भने निर्वाचित अध्यक्षले सदस्यहरुबाट चुन्ने ब्यवस्था छ। अध्यक्षले बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्नेछन् भने बाँकी छ जना कार्यसमिति सदस्यका रूपमा रहनेछन्।
संघको नेतृत्व चयनका लागि ६४ औषधि उत्पादक कम्पनीहरुले मताधिकार पाएका थिए।



