काठमाडौं। नेपाल औषधी उत्पादक संघ (एपोन) को नयाँ नेतृत्व चयनका लागि मतदान नै हुने भएको छ। अध्यक्षका उम्मेदवार रहेका विप्लव अधिकारी र दिपक प्रसाद दाहालबिचमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन मार्फत नेतृत्व चयन हुने भएको हो।
संघको आज ३१औं वार्षिक साधारणसभा आयोजना हुँदैछ। यही साधारणसभाले आगामी दुई वर्षका लागि नेतृत्व चयन गर्ने छ। अहिले संघको बन्दसत्र जारी छ।
संघको नेतृत्वका लागि अधिकारी र दाहालले आइतबार नै उम्मेदवारी दर्ता गराइसकेका छन। अधिकारीलाई अध्यक्षको चर्चामा रहेका सन्तोष बराल र प्रभात रुंगटाले समर्थन गरेका छन।
अधिकारी यसअघि संघको महासचिव हुँदै अघिल्लो पटक अध्यक्षमा प्रतिस्पर्धा गरेर हालका अध्यक्ष महेश प्रधानसँग पराजित बनेका थिए भने दाहाल संघको पुर्व अध्यक्ष हुन।
निर्वाचन समिति संयोजक प्रज्वलजंग पाण्डेका अनुसार आगामी कार्यकालका लागि अध्यक्षमा अधिकारी र दाहालसहित कुल १७ जनाको उम्मेदवारी दर्ता भएको छ। तर निर्वाचन प्रक्रियामार्फत १३ जना मात्रै आगामी कार्यसमितिमा चुनिने छन। निर्वाचन समितिले मतदानका लागि १ बजेदेखि ३ बजेसम्मको समय तोकेको छ।
अन्य कोको छन उम्मेदवार?
संघको अध्यक्षका लागि विप्लव अधिकारी र दिपक दाहालको उम्मेदवारी पर्दा सदस्य पदमा प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक गणेश, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र प्रवन दाहालले उम्मेदवारी दर्ता गराएका छन।
यसपटक संघले विधान संशोधन गरी कार्यसमिति संरचनामा सचिव र एक सदस्य थप गरेर १३ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ।
संशोधित विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी र छ सदस्य रहने व्यवस्था गरिएको छ।
संघको पदाधिकारी भने निर्वाचित अध्यक्षले सदस्यहरुबाट चुन्ने ब्यवस्था छ। अध्यक्षले बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्नेछन् भने बाँकी छ जना कार्यसमिति सदस्यका रूपमा रहनेछन्।
संघको नेतृत्व चयनका लागि ६४ औषधि उत्पादक कम्पनीहरुले मताधिकार पाएका छन।



