परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएकी छन।
महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सकहरु सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरु रहेका उल्लेख गरिन।
मन्त्री डा राणाले भनिन, “ग्रामीण बस्तीदेखि शहरी अस्पतालसम्म नै नर्सहरुको सेवा, समर्पण र विरामीहरुप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ। जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ।”
बिरामीको उपचार, उनीहरुको मनोबलमा वृद्धि, आपतकालीन अवस्थामा सेवा र विरामीहरुलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृ–शिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उनले बताइन।
मन्त्री डा राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशाधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन।
“नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ। नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ।” मन्त्री डा राणाले भनिन्।
उनले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन।
मन्त्री डा राणाले नर्सिङजस्तो महत्वपूर्ण र संवेदनशील विषयका स्नातकहरुलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यवहारिक बनाउन एवं नरम व्यवहार तथा सेवा मार्फत विरामीहरुको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव पनि दिइन।
नेपाली नर्सहरु विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन्, “यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन। तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला। यो देशमा यहाँहरुको सख्त खाँचो छ।”



