काठमाडौं। नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ नेतृत्वका लागि अध्यक्षको आकांक्षी रहेका हालका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटा र उपाध्यक्ष सन्तोष बरालले अध्यक्ष पदमा विप्लव अधिकारीलाई समर्थन गरेका छन।
रुंगटा र बराल दुबैजना अध्यक्षका आकांक्षी थिए। तर उनीहरुले उम्मेदवारको मनोनयन दर्ता गर्दा अधिकारीलाई समर्थन गरेको घोषणा गरेका हुन। अधिकारी र दिपक प्रसाद दाहालको अध्यक्षमा उम्मेदवारी परेको छ।
अध्यक्षका आकांक्षी रहेका बरालले अर्का आकांक्षी रुंगटा र आफुले अधिकारीलाई समर्थन गरेको जानकारी दिए।
`रुंगटा जी र मैले विप्लव जीलाई समर्थन गरेका छौं, हामी दुबैजना प्रस्तावक र समर्थक रहेर विप्लव जीको उम्मेदवारी दर्ता गर्यौं।´ बरालले एक्सरे नेपालसँग भने।
अधिकारी एक कार्यकाल सदस्य, दुई कार्यकाल महासचिव हुँदै अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित बनेका थिए। उनले नेतृत्वमा नहुँदा पनि आफ्नो सक्रियतालाई संघमा सँधै प्रस्तुत गर्दै आइरहेको दाबी गर्ने गरेका छन।
यसैगरी अध्यक्ष पदमा उम्मेदवारी दिएका दाहाल संघका पुर्व अध्यक्ष हुन। अहिले अधिकारी र दाहाल दुबैलाई सहमतिमा ल्याउनका लागि प्रयास भैरहेको छ। सहमतिमा दुबै जना उभिए यसपटक सर्वसम्मत रुपमा नेतृत्व चयन हुनेछ।



