काठमाडौं। नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ नेतृत्व चयन गर्न भोलि मतदान हुने कार्यतालिका सार्वजनिक भएको छ। महाधिवेशन अन्तर्गत निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अघि बढाइसकेको छ। एपोनको अध्यक्षका लागि निर्वाचन समितिले उम्मेदवारी शुल्क २५ हजार तोकेको छ।
निर्वाचनका समितिका संयोजक प्रज्वलजंग पाण्डेका अनुसार कार्यसमितिमा प्रतिनिधित्व गर्ने कुल १३ पद संख्याका लागि मतदान हुने छ। निर्वाचनका लागि अध्यक्ष बाहेक सदस्य पदका लागि उम्मेदवारको मनोनयन शुल्क पाँच हजार तोकिएको छ। एपोनको विधानमा अध्यक्ष बाहेकका पदाधिकारी सदस्यबाट नै चुनिने ब्यवस्था छ।
एपोनको नेतृत्वमा हाल महेश प्रसाद प्रधान छन। एपोनको विधानमा अध्यक्ष बन्न एक कार्यकाल वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वा महासचिव (पदाधिकारी) रहेको हुनु पर्ने ब्यवस्था छ।
ती पदमा एक कार्यकाल रहिसकेका पदाधिकारी अध्यक्षका लागि योग्य हुने छन। यस्तै पदाधिकारी सदस्यहरु मध्येबाटै चयन हुने छन। तर कुनैपनि पदमा पदाधिकारी हुन एक कार्यकाल कार्यसमितिमा सदस्य भएको हुनु पर्ने छ।
यसपटक एपोनको विधान संशोधन गर्दै दुई सदस्य थप गरि १३ जनाको कार्यसमिति निर्वाचित हुने ब्यवस्था गरिएको छ। थप गरिएको पदमा एक कार्यसमिति सदस्य र पदाधिकारीमा सचिवको ब्यबस्था गरिएको उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए।
कोको छन अध्यक्षको दौडमा?
नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ कार्यसमितिको लागि अध्यक्षमा तीन जनाको आंकाक्षा देखिएको छ।
अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष प्रभात रुङगटा, हालका उपाध्यक्ष सन्तोष बराल र पुर्व महासचिव बिप्लब अधिकारीले उम्मेदवारी दिने तयारी गरेका छन। तीनै जनाले आफ्ना लागि लबिङ गर्दै आएका थिए।
हाल वरिष्ठ उपाध्यक्ष रहेका रुंगटाले विगत पाँच कार्यकाल देखि उत्पादकको हक हित र संघको कार्यमा महत्त्वपूर्ण योगदान दिदै एक कार्यकाल सदस्य, तीन कार्यकाल कोषाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्षमा आफू स्वभाविक दाबेदार भएको भन्दै आएका छन।
यसैगरी एक कार्यकाल सदस्य, तीन कार्यकाल उपाध्यक्ष भएर संघको कामकारवाहीमा विशेष भुमिका निर्वाह गर्दै आएकाले आफू स्वभाविक उम्मेदवारका रुपमा रहेको उपाध्यक्ष सन्तोष बरालको दाबी छ। उनले आफुले संघसहित अन्य संगठनसँगको समन्वय र सहकार्यमा निभाएको भुमिकालाई समेत संघका अग्रज तथा सदस्यहरुबाट मुल्यांकन हुने अपेक्षा गरेको बताउँछन।
यस्तै एक कार्यकाल सदस्य, दुई कार्यकाल महासचिव हुँदै अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित बनेका विप्लव अधिकारी पनि आफू अध्यक्षका लागि योग्य भएको बताउँदै आइरहेका छन। उनले नेतृत्वमा नहुँदा पनि आफ्नो सक्रियतालाई संघमा सँधै प्रस्तुत गर्दै आइरहेको दाबी गर्ने गरेका छन।
संघको यसअघिको नेतृत्वमा पुगेका अग्रजहरुले यसपटक न्याय गर्ने पक्षमा आफु विश्वस्त रहेको बताउँदै अधिकारीले आफ्नो अनुभव र अग्रजको साथले संघलाई उचाइमा पुर्याउन अफु अग्रसर रहेको बताउँदै उम्मेदवारी दिने बताएका छन।
होला चुनाव?
तीनै जना अध्यक्षका आकांक्षीले आफ्नो दाबेदारी कायम राखेको अवस्थामा यसपटक पनि अघिल्लो पटक जस्तै निर्वाचन मार्फत नै नेतृत्व चयन हुने सम्भावना छ। अघिल्लो पटक संघका हालका अध्यक्ष महेश प्रसाद प्रधान र विप्लव अधिकारीबिच प्रतिस्पर्धा हुँदा प्रधान निर्वाचित भएका थिए।
यसपटक पनि निर्वाचन नै हुने अवस्था आएमा दुई जना संघका योग्य ब्यक्ति बाहिरिने चिन्ता हालका अध्यक्ष महेश प्रसाद प्रधानको छ।
`तीन जना बिच चुनाव भएमा दुई जना होनहार र योग्य ब्यक्ति बाहिरिने अवस्था आउँछ, त्यसो हुँदा संघलाई राम्रो सँग बुझेको जानेको र संघको गरिमा अक्षुण राख्न सक्षम ब्यक्ति गुमाउन पुग्छौ, तसर्थ सकभर हामी त्यो अवस्था हुन नदिने पछमा छौ।´ प्रधानले भने।



