बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाल रेडक्रस सोसाइटीमा सरकारले बनायो तदर्थ समिति, तीन महिना भित्र महाधिवेशन गर्ने जिम्मेवारी

नेपाल रेडक्रस सोसाइटीमा सरकारले बनायो तदर्थ समिति, तीन महिना भित्र महाधिवेशन गर्ने जिम्मेवारी

images
२०८२ श्रावण १७ गते, शनिवार
२०८२ श्रावण १७ गते, शनिवार
  • काठमाडौ। सरकारले नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को विवादलाई समाधान गर्न तत्कालका लागि तदर्थ समिति बनाएको छ।

    images

    सरकारले गत साउन ९ गते बसेको मन्त्रीपरिषद बैठकमार्फत नेपाल रेडक्रस सोसाइटीको नेतृत्व फेरबदल गर्दै विनोदकुमार शर्माको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको हो।

    images

    मन्त्रिपरिषद्को निर्णयअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिसमा गठित समितिको उपाध्यक्षमा हरि बराल, महामन्त्रीमा मीनबहादुर मल्ल, कोषाध्यक्षमा लोकदर्शन श्रेष्ठ छन्।

    त्यस्तै, सदस्यहरूमा प्रा.डा. हरिदर्शन श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, कान्ति राजभण्डारी, डा. गंगाधर अधिकारी र हेमराज ओझा छन्।

    सरकारले समाज कल्याण ऐन, २०४९ को दफा २० को उपदफा (२) बमोजिम नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरू मध्येबाट नयाँ कार्य समिति गठन नभएसम्म कार्य सञ्चालन गर्ने गरी तदर्थ समिति गठन गरेको हो।

    तदर्थ समितिलाई नेपाल रेडक्रस सोसाइटीमा विद्यमान समसामायिक परिस्थितिको समाधानका लागि नेपालको संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय रेडक्रस अभियानको मान्यता अनुरूप नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन गरी समाज कल्याण ऐन, २०४९ को दफा २० को उपदफा (३) बमोजिम तीन महिना भित्र संस्थाको विधान बमोजिम नयाँ कार्य समिति गठन गर्ने जिम्मेवारी दिइएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पत्रमा उल्लेख छ।

    शर्माको नेतृत्वमा बनेको तदर्थ समितिले संस्थालाई वर्तमान अवस्थाबाट निकास दिने प्रतिबद्धता जनाउँदै रेडक्रसका मान्यता र आदर्शअनुसार तटस्थ र स्वतन्त्र रूपमा कार्य गर्ने बताएको छ।

    समितिको साउन १४ गते बसेको पहिलो बैठकले नेपाल सरकार, समाज कल्याण परिषद् तथा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई धन्यवाद ज्ञापन गर्दै संस्थालाई वर्तमान अवस्थाबाट निकास दिने प्रतिबद्धता जनाएको हो।

    बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “विधान संशोधन गरी निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्दै निर्वाचित कार्यसमितिलाई जिम्मेवारी सुम्पनु नै हाम्रो मुख्य लक्ष्य हो, समावेशी सहभागितासहित ‘सबैको रेडक्रस’ बनाउने लक्ष्यमा समिति दृढ छ।”

    तदर्थ समितिले आफ्नो जिम्मेवारी पूरा गर्न नेपाल सरकार, अन्तर्राष्ट्रिय रेडक्रस समिति, रेडक्रस महासङ्घ, साझेदार राष्ट्रिय सोसाइटीहरू, संयुक्त राष्ट्रसङ्घीय निकाय, कूटनीतिक नियोग, गैरसरकारी संस्थाहरू, रेडक्रसका पूर्व पदाधिकारीहरू, शाखा, उपशाखा, जुनियर तथा युवा सर्कल, कर्मचारी, शुभेच्छुक सबैसँग सद्भाव, सहयोग, समन्वय र सहकार्यको अपिल पनि गरेको छ।

    तदर्थ समितिको बैठकको निर्णय :

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend