काठमाडौं। निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।
निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको हो। आयोगको निर्वाचन कानुन अनुसार आयोगमा पहिले नै दर्ता भए पनि निर्वाचन प्रयोजनका लागि पुन: दल दर्ता गर्नु पर्ने प्रावधान छ।
आयोगका अनुसार यही साउन २१ गतेदेखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने छ।
आयोगले यसअघि नै उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ। आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुने आयोगले भनेको छ।
उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति भने उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ।
आयोगले असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने बताइसकेको छ।



