काठमाडौं। चीनको राजधानी बेइजिङमा बोआओ फोरम फर एसिया अन्तर्गतको विश्व स्वास्थ्य फोरम २०२५ मा सहभागी भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल स्वदेश फर्किएका छन।
बेइजिङमा रहँदा औपचारिकदेखि विभिन्न अनौपचारिक कार्यक्रममा सहभागी भएका स्वास्थ्यमन्त्री पौडेलले जलवायू परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसहित डिजिटल स्वास्थ्य प्रणालीको सुधारका लागि भैरहेको प्रयाससम्मका बारेमा आवाज उठाए।
मन्त्री पौडेलले बोआओ फोरममा सम्बोधनका क्रममा जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभाव सम्बोधन गर्न थालेको अन्तर्राष्ट्रिय प्रयास, नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीति अन्तर्गत नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन भैरहेको काम, नेपालका स्वास्थ्य मुद्दाहरुमा गर्न सकिने अन्तर्राष्ट्रिय सहकार्यबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको मन्त्री पौडेलले भनेका छन।
यसैगरी चिनियाँ राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक शेन होङबिनसँग भेटका क्रममा हेटौंडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोगको बारेमा समेत छलफल भएको उनले जानकारी दिए।
`चिनियाँ राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक शेन होङबिनसँग भेटका क्रममा हेटौंडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालहरूमा न्यूरो उपचार केन्द्र स्थापनामा सहकार्य र द्विपक्षीय स्वास्थ्य सहकार्यका विषयमा सकारात्मक छलफल भएको छ´ मन्त्री पौडेलले भनेका छन।
साथै, चीनमा रहँदा बेइजिङस्थित नेपाली समुदायसँगको अन्तरक्रियाका क्रममा चीनमा प्राप्त ज्ञान र सीपबाट राष्ट्रको लागि पुर्याउन सकिने योगदानबारे छलफल भएको उनले भनेका छन।
`यसले नेपालको स्वास्थ्य सेवाको सुधार र विस्तारमार्फत आम नागरिकको पहुँच वृद्धि गराउने अभियानमा सकारात्मक उर्जा प्राप्त भएको छ।´ मन्त्री पौडेलले स्वदेश फर्किएपछि भने।



