काठमाडौं। सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत हेलिकोप्टरमार्फत् उद्धार गरेका दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीमध्ये १८ प्रतिशत किशोरी बीस वर्षमुनिका रहेको तथ्यांकले देखाएको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणले उद्धार गरिएका दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीमध्ये १८ प्रतिशत किशोरी बीस वर्षमुनिका रहेको देखाएको हो।
आर्थिक वर्ष २०८१/०८२ मा ४८ जिल्लाबाट १३२ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको थियो। जसमध्ये २४ जना बीस वर्षभन्दा कम उमेरका रहेको तथ्यांकमा उल्लेख छ।
उद्धार गरिएकामा १५ देखि १९ वर्षसम्मका किशोरी छन्। जटिल अवस्थाका उनीहरुलाई मुगु, बाजुरा, जाजरकोट, खोटाङ, पाँचथर लगायतका जिल्लाबाट हेलिकोप्टरमार्फत् प्रादेशिक अस्पताल तथा काठमाडौं ल्याइ उपचार गरिएको थियो।
नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्भे २०२२ अनुसार नेपालमा मातृ मृत्युदर १५१ प्रतिलाख छ। अर्थात् एकलाख जिवित शिशु जन्माउँदा १५१ जना आमाको मृत्यु भइरहेको छ। यसको एक प्रमुख कारण किशोरी अवस्थामा नै गर्भधारण रहेको सर्भे रिपोर्टमा उल्लेख छ।
सन् २०३० सम्ममा मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने सरकारको लक्ष्य छ। तर दुर्गम जिल्लामा देखिएको बीस वर्षमुनिको गर्भधारण र सुत्केरीका क्रममा हुने जटिलताको अवस्थालाई हेर्दा सरकारलाई लक्ष्य भेट्न चुनौति देखिन्छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सरकारले ४८ जिल्लामा जोखिममा परेका गर्भवति तथा सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गर्दै आएको छ।
आर्थिक वर्ष २०७५/०७६ यता सो कार्यक्रम अन्तरगत ८४५ जनाको उद्धार गरिएको मन्त्रालयको तथ्यांक छ।



