काठमाडौं। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई उर्फ हर्क साम्पाङले लेखेको एक पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
बुधवार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धरान उपमहानगरले पठाएको पत्रमा प्रयोग भएको भाषालाई लिएर चौतर्फी चर्चा छ।
धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको लेटरप्याडमा प्रिन्ट भएको उक्त पत्र नगरप्रमुख हर्कराज राईको हस्ताक्षर र उपमहानगरको छाप सहितको अधिकारिक हो।
जसमा भनिएको छ, “ ....उपयुक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बिपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला धन्यवाद।”
पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कोसी प्रदेश र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई समेत पठाइएको छ।
पत्रमा प्रयोग भएको `कुलङ्घार´ शब्दलाई लिएर सामाजिक सञ्जालमा कतिपयले आपत्ति जनाएको देखिन्छ भने कतिपयले साम्पाङको खरो शैलीको रुपमा बुझेको पाइन्छ।
यस्तै पत्रमा `प्लिज´ शब्द अंग्रेजीमा लेखिएको छ, जसबाट आम प्रयोगकर्ताले मनोरञ्जन गरेको पनि देखिन्छ।
सरकारी कामकाजको पत्रमा यस्ता शब्द र ठाडो भाषाको प्रयोग हुनुलाई नगर प्रमुखको अमर्यादित शैलीको रुपमा टिप्प्णी गर्नेको पनि कमी छैन सामाजिक सञ्जालमा। त्यसो त साम्पाङ आफैँले फेसबुक पेजमार्फत् सार्वजनिक गरेको पत्रका विषयमा आएका टिका टिप्प्णीमा उनले जवाफ पनि दिइसकेका छन्।
बिहीवार पुनः स्टाटस लेख्दै उनले प्रतिप्रश्न गरेका छन्,“हाम्रो अस्पताल सुटुक्कै लाँदा चाहिँ हुने अहिले आएर शब्दप्रति आपत्ति?”
यद्यपी पत्रको भाषा भन्दा माथि रहेर हेर्ने हो भने त्यसमा उठाइएको विषय भने गम्भीर छ।

अस्पतालको जग्गा विवाद के हो?
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १ छाता चोकमा रहेको करिब एक बिघा जग्गा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको उपमहानगरको दाबी छ।
हाल सो स्थानमा स्वास्थ्य केन्द्र भवन छ। नगर अस्पताल बनाउने तयारी गरिरहँदा कसैले दलाली गरी बिपीलाई दिने निर्णय गरेको पाइएको उपमहानगरको ठहर छ। यसबारे प्रमाणित कागजात समेत फेला परेको उपमहानगरको दाबी छ।
“जग्गा उपमहानगरकै हो, अहिले पनि हाम्रै स्वामित्वमा छ, तर बीचमा यही जग्गा बिपीलाई दिने भन्ने निर्णय भएको रहेछ, कहिले र कस्ले यस्तो गयो भन्नेबारे हामी अनुसन्धान गर्दैछौँ।´ धरान उपमहानगरका प्रवक्ता सूर्यमणीभट्टराईले एक्सरे नेपालसँग भने।
बिपी प्रतिष्ठानले हाल सो जग्गा प्रयोजनमा भने ल्याएको छैन। प्रमुख राईले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा कसैले दलाली गरेर उपमहानगरको जग्गा बीपीलाई दिएको दाबी गरिएको छ।
सो जग्गामा आफ्नै नगर अस्पताल बनाउने भन्दै फिर्ताका लागि पहल गरिदिन राईले मन्त्रालयसँग सहयोग मागेको पत्रमा देखिन्छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले भने जग्गा विवादबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ।



