बुटवल। बुटवलमा अवैध रुपमा आइभीएफ सेन्टर संचालन हुँदै आएको पाइएको छ।
संचालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनु पर्ने र निश्चित मापदण्ड पूरा गर्नुपर्ने भए पनि आइभीएफ सेन्टर अनुमति बिना नै संचालन भएको पाइएको हो।
आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अवैध रुपमा संचालित आइभीएफ सेन्टरहरुमा छड्के अनुगमन गर्दा अनुमति बिना नै संचालन भएको भेटिएको हो।
सो क्रममा संचालन अनुमति नलिइएको तथा मापदण्डसमेत पूरा नगरिएको पाइएकाले जरिवाना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए।
अनुगमनका क्रममा बुटवल उपमहानगरपालिका वडा नंम्बर ९ मिलन चोकमा रहेको वरदान आइभीएफ सेन्टर प्राली, बुटवल ६ सुख्खानगर श्रवण पथमा रहेको वात्सल्य बुटवल क्लिनिक प्राली र बुटवल १० राजमार्ग चौराहस्थित रहेको प्रनाभी आईभीएफ सेन्टर अवैधरुपमा सञ्चालन हुँदै आएको पाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बताएको छ।
बरदान र वात्सल्य बुटवल आइभीएफ सेन्टरलाई एक-एक लाख रुपैयाँ जरिवाना गरिएको तथा दर्ता गर्न चेतावनी दिइएको छ। यस्तै प्रनाभीलाई अनुमति नलिँदा सम्म संचालनमा रोक लगाइएको छ। सो आइभीएफमा ताला लगाइएको छ।
आईभीएफ सेन्टरमार्फत महिलाको डिम्बाशय र पुरुषको शुक्रकीट ‘फर्टिलाइजेसन’ गरी भ्रूण उत्पादन गराएर बच्चा जन्माउने काम हुँदै आएको छ।
अनुगमनमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका संघसंस्थाका प्रतिनिधि सहभागी थिए।



