माडी। चितवनको माडी नगरपालिकामा रेबिजको संक्रमण बढ्दो पाइएको छ। बढ्दो रेबिजको असर पशु चौपाया र मानिसमासमेत देखिन थालेको छ।
माडीको वडा नम्बर १, २ र ४ मा यो साता मात्रै संक्रमण देखिएको हो। माडीमा रेबिज संक्रमित कुकुरले २५ वटा पशु चौपायालाई टोकेको छ। रेबिजकै कारण एउटा बाख्रा र पाडीको मृत्यु भएको छ भने तीन जना ब्यक्ति कुकुरले टोकेपछि उपचारमा आएका छन।
माडी नगरपालिका कार्यालले रेबिज नियन्त्रणका लागि खोप अभियान चलाए पनि, कुकुर र स्याल नियन्त्रण गर्न चुनौती रहेको नगरपालिकाको पशु स्वास्थ्य शाखाका कर्मचारी बताउँछन।
नगरपालिकाका पशु विकास अधिकृत डा. रवीन बस्ताकोटीका अनुसार संक्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेपछि संक्रमण बढेको पाइएको हो।
बस्ताकोटीले रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि नियन्त्रण गर्न कठिन भएको बताए।
उनले संक्रमण देखिएपछि अहिलेसम्म ४० वटा कुकुरलाई रेबिजको सङ्क्रमण रोक्न खोप लगाइएको जानकारी दिए।
चारैतिरबाट वनले घेरिएको र बस्ती पातलो भएका कारण यहाँ रेबिजको जोखिम अत्यधिक रहेको उनी बताउँछन।माडीमा हाल कार्यालयले नियमित रेबिजको खोप अभियान सञ्चालन गरिरहेको छ।



