काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताएका छन।
प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आआफ्नो मातृभाषामा साहित्य सिर्जना गरि नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बँगैचाका रूपमा सिँगार्न सक्नुपर्ने राष्ट्रपति पौडेलले बताए।
उनले २१२औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु साहित्य उद्यानद्वारा आयोजित विशेष समारोहलाई आइतबार शीतलनिवासमा सम्बोधन गर्दै भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिबिम्बित गर्न आग्रह गरे।
‘त्यसमा भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नु पर्दछ र त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्छ।’ राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले भानुको जन्मस्थल चुँदीरम्घालाई विश्वभरि छरिएर रहेका नेपालीहरू र नेपाललाई बुझ्न चाहने विश्वका मानिसहरूले जीवनमा कमसेकम एक पटक भ्रमण गर्नै पर्ने ठाँउका रुपमा विकास गर्न आवश्यक रहेको भन्दै यसबाट पर्यटनको विस्तारमा पनि योगदान पुग्ने स्पष्ट पारे।
‘भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिबिम्बित गर्न म आग्रह गर्दछु। त्यसमा भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नु पर्दछ र त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्छ। त्यो ठाउँ यस्तो ठाउँ बन्दैछ र बनाउनुपर्दछ जहाँ विश्वभरि छरिएर रहेका नेपालीहरू र नेपाललाई बुझ्न चाहने विश्वका मानिसहरूले जीवनमा कमसेकम एक पटक भ्रमण गर्नै परोस्। जसले गर्दा पर्यटनको विस्तारमा पनि योगदान पुगोस्।’ उनले भने।
राष्ट्रपति पौडेलले भानु उद्यानलाई नेपाली संस्कृतिको साझा केन्द्रका रूपमा विकास गर्नुपर्ने भन्दै जसमा नेपालका सातै प्रदेशका प्रमुख सांस्कृतिक केन्द्रलाई प्रतिबिम्बित गरी त्यसलाई सप्तधामका रूपमा अघि बढाउँदै नेपाली राष्ट्रियताको सम्बर्धनमा भानुभक्तले दिएको योगदानलाई मूर्त रूप दिन सक्नुपर्ने उल्लेख गरे। उनले सो योजनालाई अघि बढाउन सरकारले लिएको नीति र कार्यक्रमको पनि सराहना गरे।
राष्ट्रपति पौडेलले भानुभक्तको युग नेपाली राष्ट्रियताको जग बस्दै गरेको र राष्ट्रनिर्माणको अभियानमा नेपाली योद्धाहरू पूर्वमा टिस्टा नदीसम्म र पश्चिममा काँगडासम्म पुगेको भन्दै त्यो समयमा राज्यको नीति लोककल्याणतिर उन्मुख नभएको बताए।
उनले सो समयमा जनताका निम्ति शिक्षाको समुचित व्यवस्था नभएको भन्दै हुने खाने परिवार आफ्ना छोरालाई गुरुको आश्रयमा राखेर संस्कृत पढाउँथे अनि उच्च शिक्षाका लागि वनारस पठाउने गरेको स्मरण गरे।
राष्ट्रपति पौडेलले सो समयमा समाजले संस्कृतको ज्ञानलाई नै शिक्षाको आदर्श मान्ने गरेको उल्लेख गरे।कार्यक्रममा विभिन्न ९ जना कविले कविता वाचन गरेका थिए।



