काठमाडौं। त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) को आकस्मिक कक्षको ग्रीन एरियाको क्षमता बढाइएको छ।
आकस्मिक अवस्थाका धेरै नागरिकले शैया अभावका कारण भोग्नुपरेको कठिनाई कम गर्न त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षको ग्रीन एरियाको क्षमता दोब्बर पारेर १५ शैयाको बनाइएको हो।
यस अघि ग्रीन एरियामा आठ शैया मात्र थियो। जसका कारण आकस्मिक कक्षमा बिरामीले हैरानी भोग्दै आएका थिए भने एउटै बेडमा दुई जना सम्म पनि राख्नु पर्ने बाध्यता थियो।
यसैगरी अस्पतालमा उच्च गुणस्तरको एमआरआइका लागि शनिबारदेखि नै थ्री टेस्ला एमआरआई मेसिन मार्फत सेवा समेत सुरु भएको छ।
आधुनिक प्रविधिको एमआरआईका लागि बिरामी बाहिर जानुपर्ने अवस्था कम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा थ्री टेस्ला एमआरआई सेवा सुरु भएको हो।
सो सेवा विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले धेरै नागरिकको भरोसा रहेका संघीय अस्पतालहरुको क्षमता विस्तार र आधुनिकीकरणमा सरकारको निरन्तर साथ र सहयोग रहिरहने बताए।
अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले सेवा विस्तारले बिरामीलाई सहज हुने भन्दै सहयोगका लागि मन्त्रालयलाई धन्यवाद समेत दिए।



