मुस्ताङ। उपल्लो मुस्ताङमा आएको भीषण बाढीले चार वटा पुल बगाएको छ। मङ्गलबार साँझ आएकाे लेदोसहितको बाढीले चार वटा पुल बगाएको हो भने थप दुई वटा पुलमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा बाढी आएको हो। करिब तीन घण्टा भएको वर्षापछि आएको भीषण बाढीले मानवीय क्षति भने पुएयाएको छैन।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले बाढीलेबाढीले लोमान्थाङ-४ र लोमान्थाङ-२ मा रहेको फलामे पुल र तीन वटा काठेपुल बगाएर क्षति पुर्याएको जनाएको छ।
यस्तै लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एउटा पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको प्रहरीले बताएको छ।
उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए।
बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको छ।
प्रहरीले हाल त्यस क्षेत्रमा बाढीको बाहव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेको भन्दै स्थानीयलाई आवश्यक सर्तकता अपनाउन आग्रह गरेको छ।



