बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डेंगु नियन्त्रणका लागि १० करोड वजेट, १७ सय स्वास्थ्यकर्मी तयारी अवस्थामा तर कमजोरी कहाँ?

डेंगु नियन्त्रणका लागि १० करोड वजेट, १७ सय स्वास्थ्यकर्मी तयारी अवस्थामा तर कमजोरी कहाँ?

images
२०८२ आषाढ २२ गते, आइतवार
२०८२ आषाढ २२ गते, आइतवार
  • काठमाडौं। सरकारले डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चालू आर्थिक वर्षमा १० करोड रकम छुट्याएको छ। डेंगु नियन्त्रणका लागि `खोज र नष्ट गर´ अभियान पनि चलेकै छ। तर संक्रमणको जोखिमको आँकलनको अवस्था भने डरलाग्दो छ। कसरी यस्तो अवस्था आयो त? प्रश्न गम्भीर छ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सन् २०२५ अर्थात यो वर्ष करिब ६० हजार नागरिकमा डेंगु संक्रमण हुन सक्ने प्रक्षेपण गरेको छ। साथै अबका चार महिना डेंगु संक्रमण बढ्नसक्ने पनि ईडीसीडीले जनाएको छ। अघिल्लो वर्ष सन् २०२४ को तथ्यांक केलाउने हो भने ३५ हजार तीनसय संक्रमित भएकोमा १५ जनाको मृत्यु भएको थियो।

    images

    त्यसअघिको वर्ष सन् २०२३ मा  नेपालमा ५२ हजार ७९० जनालाई डेंगु संक्रमण भएको थियो भने २० जनाको मृत्यु भएको थियो। यो तथ्यांक हेर्दा सन् २०२४ मा त्यस अघिको वर्ष भन्दा कम ब्यक्तिमा संक्रमण भएको र मृत्युको रेकर्ड समेत कम देखिएको छ।

    यस वर्ष चाहिँ कसरी अघिल्लो वर्ष भन्दा २५ हजार बढी संक्रमित थपिने आँकलन भयो त? ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले विगतमा रेकर्डमा नसमेटिएका संक्रमित पनि धेरै नै रहेको पाइएको र लक्षण नै नदेखिएका संक्रमित पनि रहेकाले यस वर्ष संक्रमितको संख्या करिब ६० हजार पुग्नसक्ने आँकलन गरिएको बताउँछन। यस वर्ष कात्तिक अन्तिमसम्म नै डेंगुको जोखिम रहेको उनको भनाइ छ।

    संक्रमण महामारीको रुपमा फैलिने जोखिमलाई ध्यानमा राख्दै एक हजार सातसय स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको पनि ईडीसीडीले जनाएको छ।

    इडीसीडीका अनुसार २०२५ जनवरीयता २ जुलाइसम्म देशभर १६ सय ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यो अवधिमा ७३ जिल्लामा संक्रमण देखिएको ईडीसीडीले जनाएको छ।

    सो दिनसम्म सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४०४ जना संक्रमित भएका छन् जसमध्ये काठमाडौंका मात्रै १७८ जना छन्। काठमाडौं जिल्लामा जुन महिनामा मात्रै ५० जनामा डेंगी पुष्टी भएको ईडीसीडीको तथ्यांक छ।

    डा. दाहालका अनुसार यो तथ्यांक विभिन्न अस्पतालबाट सरकारको अर्लि वानिर्ङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) मा रिपोर्टिङ भएको तथ्यांक हो। तर समुदायमा योभन्दा दसौँ गुणा बढी संक्रमित रहेको हुनसक्ने उनी आफै स्वीकार गर्छन। समुदायमा कतिपय ब्यक्तिलाई लक्षण नै नदेखिने गरेको उनी बताउँछ्न।

    सन् २०२२ यता बाह्रै महिना देखियो संक्रमण

    सन् २०२२ यता नेपालमा बाह्रै महिना डेंगुका संक्रमित देखिँदै आएका छन। विगतका वर्षहरूमा जुलाईदेखि सेप्टेम्बरसम्म संक्रमण उच्च भई अक्टोबरपछि ओरालो लागेको ईडीसीडीको तथ्यांक छ।

    सन् २०२२ मा  सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगी संक्रमण देखिएको थियो। ईडीसीडीका अनुसार सो वर्ष सेप्टेम्बरमा संक्रमितको संख्या २७ हजार ५२९ पुगेको थियो। अक्टोबरमा १७ हजार ८८९ जना संक्रमित भई नोभेम्बरमा पाँच हजारभन्दा कम भएको थियो।

    त्यसैगरी सन् २०२३ मा अगष्टमा सबैभन्दा धेरै १४ हजार ५३२ जना संक्रमित भएका थिए। त्यसपछि क्रमश: संक्रमण घट्दै सेप्टेम्बरमा १३ हजार ५४७, अक्टोबरमा १२ हजार ४८८, नोभेम्बरमा दुई हजार १२२ को संख्यामा झरेको थियो।

    सन् २०२४ मा जुलाईदेखि बढेको संक्रमितको संख्या अक्टोबरमा १२ हजार ३३२ पुगेको थियो। सोही वर्ष नोभेम्बरमा पाँच हजार ५४४ जना संक्रमित भएकोमा यो संख्या डिसेम्बरमा मात्रै आठ सयमा झरेको थियो।

    “यो तथ्यांकलाई हेर्दा योवर्ष पनि जुलाईदेखिका चार महिना जोखिमपूर्ण रहने र विगतका वर्षहरुकै सेरोफेरोमा संक्रमित हुनसक्ने हाम्रो आकलन छ”, डा. दाहालले भने।

    नियन्त्रणका लागि के गर्दैछ सरकार?

    `खोज र नष्ट गर´ अभियान सरकारले डेंगु रोकथाम र नियन्त्रणका लागि चलाउँदै आइरहेको छ। यो वर्षपनि यो अभियान निरन्तर छ। अभियानले निरन्तरता पाइरहँदा प्रभावकारितामा भने सँधै प्रश्न उठ्ने गरेको छ। स्थानीय तहहरुबाटै यो अभियानमा सुस्तता देखिन्छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यस वर्ष पनि सो अभियान जारी रहने जानकारी दिए। उनका अनुसार यसपटक अलि बृहत् रुपमा यो अभियान चलाइँदैछ भने स्थानीय तहमा पनि जनप्रतिनिधिहरुलाई अभियानलाई सक्रिय बनाउन भनिएको उनी बताउँछन।

    यस्तै योवर्ष डेंगु रोकथाम र नियन्त्रणका निम्ति बहुनिकाय र बहुबर्षीय रणनितिको ड्राफ्ट पनि तयार पारिएको छ।
    वर्षेनी डेंगु संक्रमितको संख्या उच्च भइरहँदा केन्द्र सरकार भने रणनिति र कार्ययोजना बनाउनमा नै अल्झिएको छ। 

    डेंगु संक्रमण फैलिने कारण र रोकथामको दायरा स्वास्थ्य मन्त्रालयसँग मात्रै सिमित नरहेकाले अन्तरनिकाय बहुबर्षीय रणनितिको ड्राफ्ट तयार पारिएको इडीसीडीका निर्देशक डा. चन्द्रभाल झाले जानकारी दिएका हुन।

    जिम्मेवारीको बाँडफाँड छ, काम चाहिँ सुस्त 

    डेंगु रोकथाम तथा नियन्त्रणका लागि रणनीति, कार्ययोजना र तालिम लगायतका दायित्व केन्द्र सरकारअन्तरगत छ भने परीक्षण किट खरिद प्रदेश सरकार र परीक्षण तथा रोकथामका कार्यक्रम गर्ने जिम्मेवारी स्थानीय तहमा छ। 

    तर महामारीको समयमा यी निकायका बिचमा नै समन्वय नहुँदा महामारी नियन्त्रणमा झनै चुनौती थपिने गरेको छ। सरकारले समेत समन्वय गर्न नसक्दा सबै एक अर्कालाई दोषारोपण गरेर पन्छिने गरेका छन। आवश्यकता अनुसार केन्द्र सरकारबाट योजना र नीति बनाइने गरेको भएपनि काममा सुस्तता हुँदा सेवा प्रवाहमा समस्या देखिने गरेको छ। कतिपय नीति समयमा नै नबन्दा समेत समस्या सृजना हुने गरेको अनुभव छ।

    `खोज र नष्ट गर´ नै चुनौतिपूर्ण

    डेंगु नियन्त्रणमा सबैभन्दा प्रभावकारी देखिएको `खोज र नष्ट गर´ अभियान नै चुनौतिपूर्ण रहेको ईडीसीडीको भनाई छ। स्थानीय तहहरुले खोज र नष्ट गर अभियानलाई निरन्तरता दिन नसक्दा नियन्त्रणमा कठिनाइ भएको डा. दाहाल बताउँछन्।

    डेंगु उच्च हुने चार महिना निरन्तर खोज र नष्ट गर अभियान चलाउनुपर्ने हुन्छ। तर स्थानीय तहहरुले यसलाई निरन्तरता दिन नसक्दा संक्रमण रोकथाममा चुनौति बढेको उनले बताएका हुन।

    यो वर्षदेखि सातै प्रदेशमा `भेक्टर बेसलाइन रिसर्च´

    यस वर्षदेखि ईडीसीडीले डेंगुबारे अनुसन्धानका निम्ति सातै प्रदेशर्मा भेक्टर बेसलाइन रिसर्च’ गर्ने भएको  छ। यो अभियानमा प्रत्येक प्रदेशमा डाटा सेन्टरमार्फत् लामखुट्टेको अनुसन्धान अघि बढाइनेछ।

    यसमा तोकिएको क्षेत्रका लामखुट्टे संकलन गरी चाही डेंगु संक्रमण छ या छैन भनि प्रयोगशालामार्फत् अनुसन्धान गरिन्छ। बेसलाईन रिसर्चको पाइलट परीक्षण अनुसन्धान बाँके र कैलालीमा सुरु गरिसकिएको डा. दाहालले जानकारी दिए।

    यसले डेंगी संक्रमण समुदायमा फैलन नदिन पूर्वतयारीमा सहयोग गर्ने अपेक्षा गरिएको छ। विश्व स्वास्थ्य संगठनको सन् २०२४ को रिपोर्ट अनुसार डेंगु संक्रमण देखिने ७५ मुलुकमध्ये नेपाल २०औँ नम्बरमा छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend