काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
परिषद्ले शुक्रबार एक सूचना प्रकाशित गर्दै पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ, बिएमएस र विशेषज्ञ नर्स तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक गरिएको जनाएको हो। परीक्षा असार १७ र १८ गते सञ्चालन भएको थियो।
परिषद्ले परीक्षार्थीहरूले नतिजा परिषद्को आधिकारिक वेबसाइट Application.nnc.org.np मा लगइन गरेर वा परिषद्को कार्यालय, बाँसबारीको सूचना पाटीमा हेर्न सक्ने जनाएको छ।
परिषद्का अनुसार परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले नाम दर्ता प्रमाणपत्रका लागि दुई हजार शुल्क भुक्तानी गरी आवेदन दिन सक्नेछन्।
यस्तै प्रमाणपत्र लिन जाँदा आफ्नो नागरिकताको सक्कल प्रति, परीक्षाको प्रवेश पत्र र परीक्षाका लागि पेश गरिएका सम्पूर्ण शैक्षिक प्रमाणपत्रका सक्कल प्रतिहरू अनिवार्य रूपमा साथमा लैजानुपर्ने परिषद्ले जनाएको छ। आफू स्वयं वा मन्जुरीनामा प्राप्त ब्यक्तिले प्रमाणपत्र लिन सक्नेछन।
परिषद्ले विभिन्न तहका लागि असार २२ गतेदेखि फरकफरक समयमा प्रमाणपत्र वितरण गर्ने तालिका पनि सार्वजनिक गरेको छ।
नतिजामा चित्त नबुझ्ने परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको परिषद्ले जनाएको छ।



