काठमाडौं। स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा बिन्दु तोकिएका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पनि बीमितलाई सेवा प्रदान गर्ने निर्णय गरेको छ।
यस अघि बीमा गर्दा सुरुमा तोकिएकै प्रथम सेवा बिन्दुबाट मात्रै (आकस्मिक बाहेकको अवस्थामा) सेवा लिनु पर्ने थियो वा अन्य अस्पतालमा उपचारका लागि रेफर लैजानु पर्ने थियो। तर अब प्रथम सेवा बिन्दु तोकिएका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले सेवा प्राप्त गर्न सक्ने छन।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले अब प्रथम सेवा विन्दु तोकिएका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थामा गएर बीमितले सेवा लिन सक्ने बताए। उनले ती स्वास्थ्य संस्थाबाट अन्य अस्पतालका लागि रेफर दिइने समेत जानकारी दिए।
`पहिले बीमा गर्दा नै सुरुमा नै तोकिएको प्रथम सेवा बिन्दुमा जानू पर्ने र त्यसपछि मात्र अन्य अस्पतालमा रेफर लिएर जानू पर्ने हुन्थ्यो, अब देशभरका प्रथम सेवा बिन्दु तोकिएका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमामार्फत उपचार सुविधा लिन सकिन्छ, अन्यत्र उपचारका लागि जानू पर्ने अवस्था भएमा त्यहिंबाट रेफर लिन सकिन्छ।´ स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी मल्लले एक्सरे नेपालसँग भने।
स्वास्थ्य बीमा बोर्डले नागरिकलाई थप सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन प्रथम सेवा विन्दु सम्बन्धी व्यवस्था परिमार्जनको निर्णय गरेको मल्ल बताउँछन।

स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनअनुसार, आगामी आ.व. २०८२/८३ को प्रारम्भसँगै मिति २०८२ सालको श्रावण १ गतेदेखि यो नयाँ व्यवस्था लागू हुने भएको हो।
यो ब्यवस्था लागू हुँदा चितवन (उदाहरण) बाट काठमाडौं आएको अवस्थामा कुनै नागरिक बिरामी पर्दा (स्वास्थ्य बीमा कार्ड साथमा हुँदा) जुनसुकै नजिकको सुचिकृत प्रथम सेवा बिन्दु तोकिएका सरकारी स्वास्थ्य सेवा प्रदायक संस्थामा गएर बीमा बाटै उपचार सुविधा लिन सक्ने छन। यो ब्यवस्था यसअघि थिएन भने उपचारका आगि अस्पताल जाँदा पहिले बीमा गर्दा तोकिएकै स्थानको प्रथम सेवा बिन्दुको रेफर मागिने गरिएको थियो।
बोर्डका सूचना अधिकारी मल्लले केही संचार माध्यम तथा सामाजिक संजालमा अब स्वास्थ्य बीमामा उपचार गर्न रेफर नचाहिने भनी फैलाइएको सूचना भ्रम मात्र भएको पनि बताए। उनले नीजि तथा सामुदायिक अस्पतालहरुको प्रथम सेवा बिन्दु हटाएर सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई मात्र प्रथम सेवा बिन्दु कायम गरिएको जानकारी दिए। सोही विषयलाई तोडमोड गरि रेफर नै नचाहिने भन्ने हल्ला फैलाइएको र त्यो सत्य नभएको बताएका हुन।




