काठमाडौं। लामखुट्टेजन्य रोग नियन्त्रणका लागि सरकारले सातै प्रदेशमा अनुसन्धान गर्ने भएको छ। प्रत्येक प्रदेशमा डाटा सेन्टरमार्फत् लामखुट्टेको अनुसन्धान अघि बढाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगी लगायत लामखुट्टेजन्य संक्रमणको नियन्त्रणका लागि महाशाखाले `भेक्टर बेसलाइन रिसर्च’ गर्न लागेको हो। यसमा तोकिएको क्षेत्रका लामखुट्टे संकलन गरी तिनमा डेंगी संक्रमण छ या छैन भनि प्रयोगशालामार्फत् अनुसन्धान गरिन्छ।
हाल बेसलाईन रिसर्चको परीक्षण अनुसन्धान बाँके र कैलालीमा गरिएको महाशाखाले जनाएको छ। यसले डेंगी संक्रमण समुदायमा फैलन नदिन पूर्वतयारीमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
सन् २०२५ जनवरीयता हालसम्म नेपालमा १६ सय ७३ जनामा डेंगी पुष्टी भएको महाशाखाको तथ्यांक छ।
आगामी चार महिना अर्थात् कार्तिक अन्तिमसम्म डेंगीको जोखिम रहेकाले गत वर्षहरुकै हाराहारीमा संक्रमित हुनसक्ने डा. दाहालले बताए। हाल देशका ७३ जिल्लामा डेंगी संक्रमण देखिएको छ।



