मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

क्षयरोगको अवस्थाको प्रदेशगत समिक्षा, सूक्ष्म रुपमा स्थानीय तहसम्म पुग्ने रणनीति

क्षयरोगको अवस्थाको प्रदेशगत समिक्षा, सूक्ष्म रुपमा स्थानीय तहसम्म पुग्ने रणनीति

images
२०८२ आषाढ १८ गते, बुधवार
२०८२ आषाढ १८ गते, बुधवार
  • काठमाडौं। नेपालमा क्षयरोग नियन्त्रणका लागि भैरहेको प्रयास, सुधार गर्नु पर्ने अवस्था र आगामी रणनीतिका बारे गम्भीर समिक्षा भएको छ। 

    images

    राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजनामा मंगलबार र बुधबार गरि दुई दिन संचालन भएको कार्यक्रममा क्षयरोग रोकथाम तथा नियन्त्रणमा गरिएको प्रयास, विगतका अभ्यास, आगामी अवस्था, भविष्यको रणनीति र चुनौतीका बारेमा प्रदेशगत रुपमा नै बृहत् छलफल भएको हो।

    images

    काठमाडौंमा उपस्थित भएका देशभरका सम्बद्ध संस्थाका प्रतिनिधिहरुले क्षयरोग नियन्त्रणमा भएका प्रयास र बनाइनु पर्ने रणनीति बारे राय राखे।

    नेपालमा बार्षिक ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको र त्यसमध्ये १६ हजार भन्दा बढीको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ। अझै तथ्यांकको अन्तर व्यापक हुँदा प्रमाणीकरणमा प्रश्न उठ्ने गरेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रकै तथ्यांक हेर्ने हो भने गतवर्ष ४० हजार ७७६ जना क्षयरोगका बिरामी भेटिएको उल्लेख छ।  

    कार्यक्रममा क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको रणनीतिलाई बदल्नु पर्ने विषयमा आवाज उठेको छ।

    कार्यक्रममा क्षयरोग नियन्त्रणमा खट्दै आएका चिकित्सकहरुले विगतमा लक्षण सहितका बिरामीहरु अस्पताल आउने गरेको भएपनि केही समययता लक्षण बिनाकै रोगीहरु अस्पताल आउने गरेको धारणा राखेका छन।

    राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले अनुमानित संख्या र यकिन भएको तथ्यांकको अन्तर व्यापक देखिएकाले कार्यक्रम मार्फत पालिका तहबाट नै क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि काम गर्ने गरि योजना बनाइने विषयमा छलफल भएको बताए।

    `अनुमानित तथ्यांक धेरै छ, तर यकिन तथ्यांक ४० हजार ७७६ छ, यो अन्तर ठूलो हो, कहाँ ग्याप छ भन्ने खोज्न अब थप रणनीति बनाउनु पर्छ भन्ने कार्यक्रममा राय आएको छ, देशभरबाट प्रदेशगत रुपमा केही अनुभव र आगामी योजनाका खाका आएका छन, अब पालिका तहमा बढी केन्द्रित हुने गरेर हामी अगाडी बढ्छौं।´ केन्द्रका निर्देशक तिवारीले एक्सरे नेपालसँग भने।

    कार्यक्रममा प्रदेशगत रुपमा अवस्थाको विश्लेषण भएको हो। बुधबार कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका भानुभक्त बस्याल, गण्डकी प्रदेशको प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक डा सुनिलराज गौतम र कोशी प्रदेशबाट तुलसी गुरागाइँले प्रदेशगत अवस्थाको विवरण कार्यक्रममा प्रस्तुत गरेका छन।

    क्षयरोगका जोखिम कारकहरूमा धूम्रपान, कुपोषण, मधुमेह, मदिराको प्रयोग र एचआईभी मुख्य रूपमा देखिएको छ।

    कार्यक्रममा सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले क्षयरोग नियन्त्रणका लागि स्थानीय तहमा अनुगमन गर्ने नीतिलाई बलियो बनाइनु पर्ने धारणा राखे। उनले बिरामीलाई दिइएको औषधि सेवन गरे नगरेको अनुगमन गर्ने गरि रणनीति बनाइनु पर्ने बताउँदै क्षयरोग नियन्त्रणका लागि गरिने प्रचारको शैलीलाई पनि बदल्नु पर्ने बताए।

    कार्यक्रममा विज्ञहरुमार्फत नेपालमा क्षयरोगको हालको अवस्था र नियन्त्रणका लागि सुधार गर्नु पर्ने नीतिका विषयमा प्यानल डिस्कसनसमेत आयोजना गरिएको छ।

    राष्ट्रिय रणनीतिक योजनाको मुख्य लक्ष्य अन्तर्गत सन् २०३५ सम्ममा क्षयरोग महामारीको अन्त्य गर्ने र सन् २०५० सम्ममा यसलाई पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य राखिएको छ। यस्तै सन् २०२६ सम्ममा क्षयरोगको घटना दर प्रति १ लाख जनसङ्ख्यामा २३८ बाट १८१ मा र मृत्यु दर ५८ बाट २३ मा झार्ने लक्ष्य लिइएको छ।

    कार्यक्रममा सातै प्रदेशका निर्देशनालयबाट स्वास्थ्य निर्देशकहरु, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुखहरु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुखहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु सहभागि छन। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend