मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री स्पेन प्रस्थान, केके छन कार्यक्रम?

प्रधानमन्त्री स्पेन प्रस्थान, केके छन कार्यक्रम?

images
२०८२ आषाढ १४ गते, शनिवार
२०८२ आषाढ १४ गते, शनिवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली कतार एयरवेजको जहाज मार्फत स्पेन प्रस्थान गरेका छन।

    images

    संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली २९ सदस्यीय प्रतिनिधि मण्डलसहित आज साँझ ६ बजे स्पेन तर्फ लागेका हुन।

    images

    औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सलामी र बिदाइ गरेको थियो।प्रधानमन्त्री ओली स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुग्ने कार्यतालिका छ।

    मित्र राष्ट्र स्पेनको सेभिया शहरमा आयोजना हुने सो अन्तर्राष्ट्रिय सम्मेलन हरेक एक दशकमा आयोजना गरिन्छ। संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुन्छ।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा स्पेन स्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधि समेत सहभागी हुनेछन। परराष्ट्रमन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा छन।

    यस्तै प्रधानमन्त्रीको मुख्य सल्लाहकार सहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरुसमेत भ्रमण दलमा छन। 

    भ्रमणको दोस्रो दिन, असार १५ गते दिउसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ। लगत्तै प्रधानमन्त्री ओलीले मेरो, नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ। जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने जानकारी गराइएको छ।

    सोही दिन साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) महामहिम श्री पेद्रो साञ्चेजसँग नेपाली प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ।

    असार १५ गतेको अन्तिम कार्यक्रम, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोज रहेको छ। 

    भ्रमणको तेस्रो दिन असार १६ गते बिहान प्रधानमन्त्री ओली उद्घाटन सत्रमा सहभागिता हुनेछन। अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा संबोधनको लागि प्रधानमन्त्री पुग्नेछन।

    सोही दिन दिउसो १ बजे मित्र राष्ट्र स्तोनियाका महामहिम राष्ट्रपति महामहिम श्री अलार  कारिससँग द्विपक्षीय बैठक हुनेछ। दिउसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले सम्मेलनलाई संबोधन गर्ने छन।

    अपरान्ह ४:०० देखि ५:१५ को बीचमा इजिप्टका प्रधानमन्त्री महामहिम डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षी बैठक हुनेछ भने पोर्चुगलका प्रधानमन्त्री महामहिम श्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक तथा संयुक्त राष्ट्रसंघ महासचिव महामहिम श्री अन्तोनियो गुटरेससँगको बैठक हुनेछ।

    यस्तै तेस्रो दिनको अन्तिम कार्यक्रम, स्पेन सरकारका महामहिम अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्री भोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन।
     
    भ्रमणको चौथो दिन (असार १७ गते) बिहान ८:३० बजे प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिने छन।

    त्यसपछि बिहान १०:३० बजे स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा संबोधन गर्ने कार्यक्रम छ।

    यस्तै अपरान्ह १२:३० पछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई ओलीले सम्बोधन गर्ने छन।

    अपरान्हमा नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा संबोधन गर्ने कार्यक्रम छ भने दिउसो ३ बजे थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा संबोधन गर्ने कार्यक्रम छ।

    यसैगरी साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले आयोजना गर्नुहुने रात्री भोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन।

    पाँचौं दिन, असार १८ गते नेपाली भ्रमण दल सेभियाबाट म्याड्रिड फर्किने कार्यक्रम छ। म्याड्रिड पुगेसँगै कार्यक्रममा संलग्न हुने तालिका तय भएको छ। त्यसदिन साँझ ५ बजे बाट सुरु हुने नेपाल–स्पेन विजनेश तथा लगानी प्रबर्धन साँझ नामक कार्यक्रममा प्रधानमन्त्रीले त्यहाँको प्रतिष्ठित व्यावसायिहरुलाई संबोधन गर्ने छन भने नेपालमा लगानी गर्न आव्हान गर्ने कार्यक्रम छ।

    छैटौ दिन, असार १९ गते भ्रमणको अन्तिम दिन स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ।

    सोही दिन अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको छ भने त्यसपछि प्रधानमन्त्री राती १०:४५ बजे दोहाको लागि प्रस्थान गर्नेछन। प्रधानमन्त्री असार २० गते दिउसो ४:४५ बजे काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend