काठमाडौं। नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागको आयोजना र डेनिस रेडक्रसको सहयोग तथा रोटरी क्लव अफ काठमाडौंसँगको सहकार्यमा एक दिने मानसिक स्वास्थ्य, तनाब व्यवस्थापन र स्वहेरचाह सम्वन्धी कार्यशाला सम्पन्न भएको छ।
वर्तमान अवस्थामा रेडक्रस अभियानमा कार्यरत कर्मचारीहरुको मानसिक स्वास्थ्य र तनावजन्य अवस्थाको सामना गर्ने तरिका लगायत स्वहेरचाहका विषयवस्तुहरु समेटेर कार्यशाला आयोजना गरिएको हो।
नेपाल रेडक्रस सोसाइटीले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका गतिविधिहरूलाई देशभर आफ्ना स्वयंसेवकहरु मार्फत यस्ता गतिविधिहरु सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ।
विपत्ती जन्य घटनाहरू पश्चात् आपतकालिन अवस्थामा स्वयंसेवकहरुलाई प्रशिक्षण प्रदान गरी आम जनमानसमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका गतिविधिहरू सञ्चालन गरिरहेको रेडक्रसले यस्ता कार्यक्रम मार्फत वर्षेनी हजारौंको संख्यामा प्रभावित व्यक्ति तथा परिवारहरू लाभान्वित हुने अपेक्षा गरेको छ।
कार्यशालामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, रेडक्रसको अन्तराष्टिय महासँघ (आएफआरसी) र साझेदार राष्टिय सोसाइटीका कर्मचारीहरू गरी ५० जना सहभागि थिए।
यस्तै कार्यशालामा विषयगत रुपमा मनोचिकित्सक डा. प्रदिप पाण्डे, नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्याल, उप निर्देशक बालकृष्ण सेढाँई, कार्यक्रम संयोजक टिकाराज पौडेलले सहजीकरण गरेका थिए।
यसैगरी रोटरी क्लब अफ काठमाण्डौंका अध्यक्ष राजेन्द्र गौतम, नेपाल रेडक्रस सोसाइटीका निर्देशक बद्धिसागर श्रेष्ठ र निर्देशक पुजा कोइरालाले कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए।



