काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र स्वास्थ्य पत्रकार मञ्च, नेपालको संयुक्त आयोजनामा स्वास्थ्य पत्रकारहरुका लागि ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ सम्बन्धि तालिम प्रदान गरिएको छ।
बिहीबार काठमाडौमा आयोजना गरिएको एकदिने कार्यशालामार्फत स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गरिएको हो। सो कार्यशालामा ४७ जना पत्रकारहरू सहभागी थिए।
कार्यशालामा डा. गणेश दंगाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रमोद जोशी, एनएचआरसीका अध्यक्ष प्रा. डा. नारायण विक्रम थापा, वरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र नेपाल चिकित्सक संघका सदस्य डा. युविन यादवले फरकफरक विषयमा पत्रकारका लागि प्रस्तुतीकरण गरेका थिए।
सो कार्यशालाको पहिलो सत्रमा ‘नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ विषयमा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले परिषद्को कामकारबाही दायरा लगायतका पारे प्रस्तुति राखेका थिए।

सो क्रममा उनले स्वास्थ्य अनुसन्धानमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा जरुरत भएको बताउँदै नैतिकता र तथ्यमा आधारित अनुसन्धानमुलक पत्रकारिताको खाँचो रहेको बताए।
खोज पत्रकारिताका विज्ञ तथा वरिष्ठ पत्रकार शिव गाउँलले स्वास्थ्यमा क्षेत्रमा खोजी, अनुसन्धान र खबरदारी कमजोर रहेकोे बताउँदै यसतर्फ ध्यान दिन स्वास्थ्य पत्रकारहरूको ध्यानाकषर्ण गराएका थिए।
गाउँलेले स्वास्थ्यमा कैयौं खोजीका विषयवस्तु रहेको भन्दै सञ्चारमाध्यम र पत्रकारले त्यस्ता विषयलाई उजागर गरी जनस्वास्थ्य सुधारको लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, कार्यशालामा बोल्दै परिषद्का अध्यक्ष प्रा. डा. नारायणविक्रम थापाले अनुसन्धान र सञ्चारको सहकार्यबाट स्वास्थ्य प्रणालीको सुधारको लागि थप बाटो खुल्ने बताए।
‘स्वास्थ्य अनुसन्धानको परिणाम आम मान्छेसम्म पुर्याउन मिडियाको महत्वपूर्ण हुन्छ,’ डा. थापाले भने।
कार्यशालाको दोस्रो सत्रमा ‘जनस्वास्थ्यको अनुसन्धान पद्धति : सिद्धान्त र अभ्यास’ विषयमा प्रा. डा. गणेश दंगालले प्रस्तुतीकरण गरेका थिए।
यस्तै डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले ‘कृत्रिम बौद्धिकता (एआइ) का आधारभूत विषय र मिडियाका नयाँ प्रविधिहरू’ र ‘स्वास्थ्य क्षेत्रको समाचार रिपोर्टिङमा एआई विधिको प्रयोग’को विषयमा आफ्नो प्रस्तुतीकरण गरेका दिए।

त्यसैगरी अन्तिम सत्रमा डा. युविन यादवले ‘चिकित्सा विज्ञानमा अनुसन्धानको महत्व’ विषयमा प्रस्तुति राखेका थिए।
कार्यशालामा बोल्दै स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)का कार्यवाहक अध्यक्ष बुद्दि कटेलले स्वास्थ्य पत्रकारिता गर्ने पत्रकारहरुका लागि प्रविधिको प्रयोग र अनुसन्धानात्मक विषयको जानकारी सँधै आवश्यक हुने बताए।




