काठमाडौं। पतञ्जली जग्गा हिनामिना प्रकरणमा विषेश अदालत काठमाडौंमा मुद्दा खेपिरहेका पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल ३५ लाख धरौटी बुझाएर छुटेका छन।
नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल सहित ९३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
बुधबार थुनछेक बहसपछि न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।
विशेष अदालतले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान अदालतमा आफैँ उपस्थित भएर बयान दिएका थिए। बयान सकिएपछि उनी क्यान्टिनमा आदेश कुरेरै बसेका थिए। आज नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना अधिवक्ताले बहस गरेका थिए।
अख्तियारले दायर गरेको आरोपपत्रमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो।
नेपालमाथि उक्त जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको अभियोग अख्तियारले लगाएको छ।



