मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पाउने १४ जना को हुन?

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पाउने १४ जना को हुन?

images
२०८२ आषाढ १० गते, मंगलवार
२०८२ आषाढ १० गते, मंगलवार
  • काठमाडौं। १४ जना कृषकले राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पाएका छन।

    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गरे।

    images

    पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेश कुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म) मधेस प्रदेशबाट भरत कुमार यादव (शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर), वाग्मती प्रदेशबाटट चेत प्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि ग्रीनलाईन एग्रो प्राली), गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म), लुम्बिनी प्रदेशबाट जयपाल मौर्य (खाद्यान्न वाली) र सुवास कुर्मी (शान्ती उन्नत पशुपालन तथा माछा फर्म) छ्न।

    त्यस्तै कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदुरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छ्न।

    पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ। पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति  रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखेर युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे।

    उनले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताए।

    राष्ट्रपति पौडेलले भने, ‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण/यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन्। यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’

    उनले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पूरा गर्न सकिने बताए।

    राष्ट्रपति पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिविम्व गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्युन आय हुने परिवारको पेशाको रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताए।

    ‘शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेशा बनाई यसैबाट लाखौ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नविनतम प्रविधि भित्रिएको छ। कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन्। अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दूग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ। यसरी कृषिले गति लिनुमा तपाईंहरूजस्तै पौरखी कृषकहरूको मेहनत र लगनको कारण हो।’ उनले भने।

    उनले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति भएको भन्दै मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी रहेको बताए।

    पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री  रामनाथ अधिकारीले “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१” अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रुपमा छानिएर आएका १४ जना कृषकहरूलाई कृषि क्षेत्रमा पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न पाउनु एक ऐतिहासिक अवसर भएको उल्लेख गरे।

    मन्त्री अधिकारीले भने, `हाम्रा किसानहरूले माटोमा बगाएको पसिनाले नै हाम्रो भान्छा भरिएको छ, हाम्रो अर्थतन्त्रलाई टेवा पुगेको छ र सिंगो राष्ट्रले खाद्य सुरक्षाको अनुभूति गर्न पाएको छ। प्रकृतिका चुनौतीहरूका बीचमा पनि  कृषकहरुले कृषि क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ। उहाँहरूको अथक परिश्रम, धैर्यता र लगनशीलताको आज हामीले कदर गरेका छौँ।´

    कृषक पुरस्कारले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै समाजमा नयाँ प्रेरणा दिएको उल्लेख गर्दै मन्त्री अधिकारीले यो सफलताले विशेष गरी युवा, महिला र साना कृषकहरूका लागि प्रेरणाको स्रोत बनेको बताए।

    कृषि क्षेत्रमा प्रविधिको प्रयोग, नवप्रवर्तन र युवा सहभागितालाई प्रोत्साहन गर्दै कृषि व्यवसायलाई देशको समृद्धिको आधार बनाउने हाम्रो साझा लक्ष्य रहेको र यसलाई बनाउन सबैको हातेमालो आवश्यक रहेको मन्त्रीहरूलाई अधिकारीले उल्लेख गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend