काठमाडौं। नेपाल रेडियोलोजिकल सोसाइटीले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ।
सोसाइटीले सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर केन्द्रस्तरका सात वटा अस्पतालमा सिफारिस गरिएका रेडियोग्राफर, टेक्नोलोजिस्ट र उपप्रमुख पदहरूलाई स्थायी दरबन्दीमा राख्न बजेट विनियोजन गरिनु पर्ने, देशभर आवश्यक रेडियोग्राफीको जनशक्ति दरबन्दीको ओएनम गर्नु पर्ने, यस सेवाका लागि निरन्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनुपर्ने र रेडियोग्राफर समूहको छुट्टै सेवा संरचना निर्माण हुनु पर्ने लगायतको माग सहितको ज्ञापनपत्र बुझाएको हो।
सोसाइटीका अध्यक्ष मुकेशकुमार झाको नेतृत्वको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले रेडियोग्राफर तथा रेडियोलोजिस्टहरूको समस्या सम्बोधन गर्न सरकार प्रयत्नशील रहने आश्वासन दिए। सो क्रममा उनले सोसाइटीले राखेको मागका विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अघि बढने बताए।
अर्थमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको एक प्रमुख अङ्ग रहेको रेडियोलोजिकलतर्फ जनशक्ति व्यवस्थापनप्रति आफू सकारात्मक रहेको र सरकारले पहल गर्ने विश्वास दिलाउँदै सोसाइटीलाई सेवामा केन्द्रित हुन आग्रह गरे।



