काठमाडौं। प्रतिनिधिसभाको बैठकमा रास्वपाको नारावाजी आज आइतबार पनि जारी छ। रास्वपाको नारावाजीकै बिचमा बैठक सुरु भएको छ।
सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूको नारावाजीका बिच प्रतिनिधि सभाको बैठक अघि बढाएका हुन।
बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाललाई केही वर्षका लागि अन्य मुलुकलाई लिजमा दिउँ भन्ने अभिव्यक्ति राखेपछि संसद बैठकमा लफडा भएको छ।
सिंहले धारणा राख्दै गर्दा नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रघाती धारणा राखेको भन्दै आपत्ति जनाएका हुन। उनको आपत्तिसँगै सत्तारूढ दलका अन्य सांसदहरूले पनि सिंहको अभिव्यक्तिको विरोध गरेपछि सभामुख घिमिरेले सिंहको धारणा राष्ट्रहीत विपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन।
सो क्रममा सभामुख घिमिरे र सांसद सिंहबिचमा भनाभन समेत भेको छ। सिंहलाई ड्यासबाट तल ओर्लन सभामुखले निर्देशन दिएपछि सिंहले आफू आफ्नो समयभर तल नओर्लने भन्दै सभामुखसँग सवालजवाफ गर्दै बसेका छन।
भिजिटि भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले भने निरन्तर रोस्टम घेराउसहित नाराबाजी गर्दै आइरहेको छ।
सभामुख घिमिरेले विनियोजन विधेयक अन्तरगत युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका विनियोजनसम्बन्धी छलफल अघि बढाएका छन्।
ती विधेयक उपरको छलफलमा ८ जना प्रतिनिधि सभा सदस्यले बोल्नका लागि नाम टिपाएका छन।



