मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा सरकार, चार मन्त्रालयको संयुक्त बैठक

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा सरकार, चार मन्त्रालयको संयुक्त बैठक

images
२०८२ आषाढ ६ गते, शुक्रवार
२०८२ आषाढ ६ गते, शुक्रवार
  • काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरुलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छन।

    images

    आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराएकी हुन।

    images

    मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूताबासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिइन।

    “जिटुजी प्रक्रिया अन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो। त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ। नेपालीहरु स्वदेश फर्कन चाहेमा उहाँहरुको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ।” मन्त्री राणाले भनिन।

    सो बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रालय पनि त्यहाँ रहेका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेको र स्वदेश फर्कन चाहेमा उद्धारको तयारीमा नेपाल सरकार लाग्नुपर्ने बताए।

    बैठकमा उनले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरुलाई श्रम स्वीकृति नदिइ रोकि राखिएको पनि जानकारी गराए।

    यही जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत् दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपिल गर्दै ती मुलुकमा रहेका नेपालीहरूलाई सम्बन्धित नेपाली राजदूतावासहरूसँग सम्पर्कमा रहन अनुरोध गरेको थियो।

    त्यसपछि जुन १५ मा सम्पर्क विवरण सहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीहरुलाई अनुरोध गरिएको थियो।

    ती मुलुकहरूमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीहरूलाई अनलाइन भिषा उपलब्ध गराउने लगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगहरूलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिइसकेको छ।

    साथै मन्त्रालयले अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरू गरेको र उक्त पोर्टलमा हालसम्म ६ सय जनाभन्दा बढीले विवरण दर्ता पनि गराइसकेको जनाएको छ। सो यो क्रम जारी नै छ।

    परराष्ट्र मन्त्रालयले गत बुधबार नै दोश्रो पटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध पनि गरिएको थियो।

    यसै हप्ता नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग परराष्ट्र मन्त्री डा राणाले भेट गरी नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन इजरायल सरकारलाई अनुरोध गरेकी थिइन्।

    त्यसैगरी इजरायलस्थित नेपाली राजदूतावास र इरान हेर्ने कतारस्थित नेपाली राजदूतावासलाई सम्बन्धित सरकारी अधिकारीहरू, यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरू र नेपाली समुदायसँग निकटको सम्पर्क स्थापित गर्न र सोका सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ।

    हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा रहेका छन्। त्यस्तै इरानमा १८ जना नेपाली रहेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend