काठमाडौ। प्रहरीले नारायणघाट–बुटबल सडक भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले बिहीबार विहानै एक सुचना जारी गर्दै नारायणघाट–बुटबल सडक भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो।
डीएसपी मधु नेपालद्वारा जारी सूचनामा सकेसम्म अहिले दुम्कीवास दाउन्ने हुँदै बुटवल तर्फ जाने सडकबाट यात्रा नगर्न पनि यात्रुहरुलाई अनुरोध गरिएको छ।
विगत केही दिनयता बाढीले विनयी खोलाको डाइभर्सनमा लगातार क्षति पुर्याउँदै आइरहेको छ। त्यसैगरि दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो हुँदा सवारी साधन सञ्चालन हुन असहज हुँदै आइरहेको प्रहरीले जनाएको छ।
‘वर्षातको कारण नारायणगढ बुटवल सडक खण्डको विनयी खोलामा पानीको सतह बढ्न गई सवारी आवागमन भइरहेको डाइभर्सनमा क्षति पुगेको कारण तथा निरन्तर वर्षाका कारण दुम्किवास दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको व्यहोरा यात्रु महानुभावहरुलाई जानकारी गराउँदै सकेसम्म यो क्षेत्रबाट याता नगरी अन्य रुटबाट यात्रा गर्न अनुरोध छ,’ डीएसपी नेपालले बिहीबार बिहान जारी गरेको सूचनामा भनिएको छ।
प्रहरीले विनयी खोला र दाउन्नेमा रोकिएका सवारी साधन सञ्चालनको लागि वैकल्पिक मार्ग पनि सुझाएको छ।
पूर्ववाट पश्चिम जाने ठूला सवारी साधन नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटबल निस्कन सक्ने विकल्प प्रहरीले दिएको छ।
त्यसैगरि पश्चिमबाट पूर्व जाने ठूला सवारी साधनहरु बुटबल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै गन्तव्यमा जान सक्ने प्रहरीको सुझाव छ।
यसैगरी साना सवारी साधनमा भने बाटोको अवस्था बुझेर कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट, पिपलडाँडा सडक खण्ड भएर यात्रा गर्न सकिने प्रहरी बताउँछ।
बाढीले दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि सो स्थानमा दैनिकजसो यातायात संचालनमा अवरोध भइरहेको छ। यस वर्षमात्रै यो डाइभर्सन सात पटकसम्म बाढीले बगाएको छ।



