काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–नारायणगढ सड्क खण्डमा सुख्खा पहिरो खसेपछि अबरुद्ध बनेको सडक एकतर्फी खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको थियो। पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले जानकारी दिए।
सडक अबरुद्ध भएपछि चितवनबाट काठमाडौं आउदै गरेका र काठमाडौबाट चितवनतर्फ जाँदै गरेका यात्रु अलपत्र परेका थिए।
“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै खसेको सुक्खा पहिरो हटाइसकिएको छ। हाल सवारीसाधन आवागमन दुईतर्फी सुचारु भइसकेको जानकारी गराउँदछौँ,” सडक डिभिजन कार्यालयले मंगलबार अपराह्न साढे ४ बजे जारी गरेको सूचनामा भनिएको छ, “माथिबाट ढुंगा झर्न नरोकिएकोले लेन अनुशासनमा रही एकतर्फी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ।”



