काठमाडौं। फिल्म र म्युजिक भिडियोका दृश्यहरुमा सुर्तीजन्य पदार्थ सेवन गरिएका दृश्यको विकल्प खोज्न एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन।
सोमबार काठमाडौंमा आयोजना गरिएको ‘दृश्यमा सुर्तीजन्य पदार्थ कथाले माग्छ? विषयक अन्तरक्रिया वक्ताहरूले फिल्म र म्युजिक भिडियोका दृश्यहरुमा सुर्तीजन्य पदार्थ सेवन गरिएका दृश्यको विकल्प खोज्नु पर्ने धारणा राखे।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा .विकास देवकोटाले कला क्षेत्रले तत्कालै ब्यक्तिमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सुर्तीजन्य पदार्थ सेवनका दृश्यको विकल्प खोज्नु पर्ने बताए।
‘हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल जस्तो देखिएँ कि देखिएको छैन भनेर सोच्ने गर्छौँ, महिलाले कसैलाई सोच्नुहुन्छ होला’, उनले भने, ‘त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो। त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन्।’
उनले त्यस्ता दृश्यका विकल्पमा संसारमै मानक बनाउने दृश्य सृजना गर्नतर्फ लाग्नुपर्नेमा जोड दिंदै कलाकारिता सबै क्षेत्र, वर्ग र उमेर समूहसँग जोडिने बताए।
‘तपाईँहरू चुरोट,सुर्तीको सहारा बिना नै अब्बल चरित्र निर्माण गर्न सक्नुहुन्छ।’
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनीकरण गर्दै अघि बढ्न सकिने बताए। उनले फिल्ममा देखाइएको दृश्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफ्नो अनुभव रहेको सुनाए।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कला क्षेत्र समाजको ऐना भएकाले विशेष सचेतना जरुरी भएको उल्लेख गरे।
स्वास्थ्य मन्त्रालयका कानु उपसचिव गोपीकृष्ण रेग्मीले फिल्म हेर्ने क्रममा यस्ता दृश्य धेरै नै देखिएको र त्यसको असर मुल्यांकनपछि वैकल्पिक अवधारणा आएको बताए।
कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसीलगायतले सुर्तीजन्य पदार्थका दृश्यलाई कम गर्दै लैजानुपर्ने धारणा राखेका थिए।



