काठमाडौं। काठमाडौं जिल्ला अदालतले मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतले गत चैत १५ राजावादीहरूको प्रदर्शन क्रममा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटना सम्बन्धि मुद्दामा प्रसाईंलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि मध्यरातमा आदेश आएको हो।
गत चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा काठमाडौंमा आन्दोलन भएको थियो। त्यसको नेतृत्वका लागी प्रसाईं कमान्डर तोकिएका थिए।
प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक हुँदै जाँदा तीनकुनेमा दुई जनाको मृत्यु भएको थियो। त्यस्तै निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।
त्यस घटनामा सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा जेठ ११ गते मुद्दा दायर गरेको थियो।



