काठमाडौं। नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।
बिहीबार नख्खुस्थित अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले ५६ वर्षीया ईश्वरबहादुर कार्कीको पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिए।
साहका अनुसार उनलाई २६ वर्षीय छोरा आयुष कार्कीले आफ्नो बुवालाई कलेजो दान दिएका थिए। उनीहरू पोखराका वासिन्दा हुन।
अस्पतालए भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सप्पन्न गरिएको भनेको छ। सो प्रत्यारोपण जेठ ८ गते सम्पन्न गरिएको थियो भने प्रत्यारोपणका लागि झण्डै १३ घण्टा समय लागेको थियो।
डा साहले नेपालमा नै सहज रुपमा कलेजो प्रत्यारोपण होस भन्ने मनसायका साथ सेवा सुरु गरिएको जानकारी दिए।
‘नेपालीहरु उपचारका लागि विदेश जान नपरोस भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा सुरु गरेका हौं, हामी अस्पतालको दक्ष जनशक्तिबाट जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने कोसिसमा छौं।’ डा साहले भने।
अस्पतालले विदेशी नागरिककोसमेत उपचार गर्ने गरेको भन्दै उनले नेपाललाई स्वास्थ्यको ‘हब’ बनाउन अस्पतलका तर्फबाट काम भैरहेको जानकारी दिए।
बुवालाई कलेजो दिएका आयुषले अङ्गदान गरेर बुवालाई बचाएको भन्दै सबैलाई अङ्गदान गर्न आग्रह गरे। उनले उपचारका लागि दुईपटक भारत गएको तर त्यहाँको उपचार सेवा भरपर्दो नभएपछि मेडिसिटी अस्पतालमा आएर उपचार गरेको अनुभवसमेत सुनाए।
अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट प्रा डा उमिदकुमार श्रेष्ठले बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेकाले कलेजो प्रत्यारोपण गरिएको बताए। उनले बिरामीको कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार हुने अपेक्षा गरे।
अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अङ्गको पनि प्रत्यारोपण गर्दै आइरहेको जनाएको छ। अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको अस्पताल बताउँछ।



