कञ्चनपुर। पछिल्लो एक साता भित्र देशको पश्चिमी नाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा र बैतडीको झुलाघाट नाका हुँदै फर्किएकाहरुमा संक्रमण देखिएको हो। यस्तै कैलालीको त्रिनगर नाका हुँदै आएकाहरुमा पनि संक्रमण पुष्टि हुन थालेको छ। ती नाकाहरुमा परीक्षणका लागि पर्याप्त कीट नहुँदा समस्या देखिएको छ।
कञ्चनपुरको गड्डाचौकी नाकामा परीक्षण सुरु गरिएकोमा कीटको अभावका कारण लक्षण देखिएकाहरुको मात्र परीक्षण गरिने गरिएको छ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार मात्रै सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक/एक जनामा सङ्क्रमण देखिएको हो।
सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए। जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो।
गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु सञ्चालनमा छन्।
त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्तिहरु छन। यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन्।
विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कञ्चनपुरको गड्डाचौकी नाकामा १०० कीट मंगलबार उपलब्ध भएपछि परीक्षण सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले मंगलबारदेखि नाकामा परीक्षण सुरु गरिएको बताए।
“हामीसँग १०० कीट मात्रै आएको छ यो पर्याप्त होइन”, उनले भने, “अहिले नाकामा लक्षण देखिएकाहरुको मात्रै परीक्षण गर्ने व्यवस्था मिलाएका छौं।” उनका अनुसार मंलबार गड्डाचौकी नाकामा सात जनाको परीक्षण गरिएको थियो।
स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन्।
“आउने आप्रवासीहरुलाई कडाइ त गरेका छौँ तर कीटको अभावले परीक्षण गर्न सकिएको छैन”, गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले भने, “शंकास्पद देखिएकालाई एक हप्ता घर परिवारका सदस्यबाट टाढा बस्न सम्झाइबुझाइ पठाउने गरेका छौं।”
विगतका वर्षहरुमा समयमा नाकामा कडाइ गर्न नसक्दा सङ्क्रमण फैलिएकाले सरकारले नाकामा कडाइ गर्नुपर्ने स्थानीय बताउँछन्।
“गड्डाचौकी नाकाबाट आउनेहरुको कोभिड परीक्षण हुन सकेको छैन”, स्थानीय पदम थापाले भने, “नाकाबाट फर्किनेहरु स्वाथ्य परीक्षणका लागि हेल्थ डेस्कमा जाँदैनन् सुरक्षाकर्मीले रोकेको देखिदैन।”
उनले भारतबाट आउने जीप, कार र बसहरु नाकामा नरोकी सिधैँ नेपाल प्रवेश गर्ने गरेको उल्लेख गर्दै प्रशासनले नाकामा रोकेर हेल्थ डेस्कमा जाँच गराउनुपर्ने बताए। कोरोना महामारीपछि सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन् ।



